INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा पुर्नस्थापित रुपाले नियमित र निःशुल्क उपचार पाउँदै

इन्सेकको पहलमा पुर्नस्थापित २० वर्षीया रुपा बोटेले नियमित र निःशुल्क उपचार सेवा पाउँदै आउनुभएको छ । बगनासकाली गाउँपालिका–७, खानीगाउँ दैलातुङकी रुपा र उहाँका भाइ बुद्धलाई इन्सेकको पहलमा ०७४ कात्तिक २९ गते तानसेन स्थित सिलोम बालगृहमा पुर्नस्थापित गरिएको थियो । भाइ बुद्धले अहिले सिलोम बालगृहमा बसेर तानसेनस्थित भुसलडाँडा माविमा कक्षा ६ मा पढ्दै आउनुभएको छ । बुद्ध र उहाँको शैक्षिक अवस्थाबारे ‘इन्सेकको पहलमा निरन्तर पढ्ने मौका पाउँदै बोटे बालबालिका‘ शीर्षकमा इन्सेक अनलाइनमा ०८१ असार १८ गते फिचर प्रकाशित भइसकेको थियो ।

अभिभावकको निधन भएपछि बेसाहारा भएका हेमा र बुद्धले कष्टकर दैनिकी बिताउँदै आएको भन्दै इन्सेक अनलाइनमा ०७४ कात्तिक २६ गते समाचार प्रकाशन भएपछि इन्सेक प्रतिनिधिकै पहलमा उनीहरूको जन्मदर्ता गराउनुका साथै सिलोम बालगृहमा पुर्नस्थापित गरिएको थियो ।

हेमा शारीरिक अपाङ्गता हुनुहुन्छ । सहज रूपमा हिँड्ड्ल गर्न सक्ने अवस्था छैन । बालगृहमा राखेपछि नियमित रूपमा उहाँलाई बालगृहकै तर्फबाट निःशुल्क उपचार र औषधिको व्यवस्था गरिएको सिलोम बालगृहका अध्यक्ष पुननारायण श्रेष्ठले बताउनु भयो । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उहाँलाई नियमित र निःशुल्क उपचार हुँदै आएको र अन्य अस्पतालहरूमा लैजानुपर्दा बालगृहले नै खर्च व्यवस्थापन गर्ने गरेको श्रेष्ठले बताउनु भयो । रुपाका लागि एक जना हेरालुको व्यवस्था गरी नियमित अस्पताल ल्याउने लैजाने गरिएको उहाँले बताउनु भयो । ‘खुट्टाले सहज रूपमा हिँड्डुल गर्न मिल्दैन, सानैदेखिको समस्या भएकोले तत्काल निको हुन सम्भव छैन, सुधारको अपेक्षा सहित उहाँलाई नियमित चेक जाँच र औषधि उपलब्ध गराउने गरिएको छ’, श्रेष्ठले भन्नुभयो ।

सिलोम बालगृहमा अहिले अभिभावक विहीन तथा बेसाहारा गरी २४ जना बालबालिकाहरू राखी उनीहरूलाई शिक्षा समेत प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । चन्दा उठाएर सञ्चालन भइरहेको यो बालगृहका लागि सहयोग गर्न स्थानीय तहहरूलाई पटक पटक अनुरोध गरिए पनि कुनै पनि प्रकारको सहयोग प्राप्त नभएको उहाँले गुनासो गर्नुभयो ।

अन्य

भिडियो