INSEC Online

📅 २०८३ जेष्ठ २१

फुटपात व्यापारी महिलालाई नगर प्रहरीले दुर्व्यवहार गरेको आरोप

बुटवल अस्पताल लाइनमा फलफुल बेच्ने क्रममा नगर प्रहरीले दुर्व्यवहार र ज्यादती गरेको फुटपातमा व्यवसाय गर्ने महिलाहरूले आरोप लगाएका छन् ।

आफूहरूलाई नगर प्रहरीले सामान डोकोमा राखेर हिँड्दा समेत लखेटी–लखेटी सामान कब्जा गरिदिने र आफूहरूलाई जबर्जस्ती लछार पछार गर्ने गरेको बताएका छन् । गुल्मी जिल्लाको मालिका गाउँपालिका–१ स्थायी घरभई बुटवल उपमहानगरपालिका–९, इटाभट्टी बसी डोकोमा फलफुल तरकारी बेच्ने ४२ वर्षीया टीका श्रीस मगरलाई ०८१ साउन २० गते बुटवल उपमहानगरपालिकाको नगर प्रहरीले लछारपछार गरी श्रीसले लगाएको लुगा समेत च्यातिदिएका छन् । पीडित श्रीस मगरका अनुसार बुटवल उपमहानगरपालिकाको नगर प्रहरीले साउन १९ गते अस्पताल लाइनदेखि नेपालगञ्ज रोडसम्म लखेट्दै डोको तान्दा नाम्लो घाँटीमा झरेर पासो लागेर झण्डै नमारेको श्रीस मगरले इन्सेकलाई जानकारी दिनुभयो ।

नगर प्रहरीले लछारपछार गर्दा टिकाको कुर्ता च्यातिएर अर्धनग्न हुनुभएको छ । बुटवलको इटाभट्टी लाइनमा बस्दै आउनुभएकी श्रीस मगरले छोरा छोरी पढाउन र बिरामी पति पाल्ने र उपचार गर्ने कुनै उपाय नभएपछि कहिले सडक पेटीमा त कहिले डोकोमा डुलाएर सामान बेच्दै आएको बताउनु भयो । डोकोमा बोकेर बेच्न पनि नदिइ लखेटेर सधैँ सताउने गरेको भन्दै ‘नगर प्रहरीले अस्पताल लाइनबाट लखेट्दै नेपालगञ्ज रोड पुर्‍याएर, फलफुल बोकेको डोको पछाडिबाट तान्दा नाम्लो घाँटीमा पासो लागेर घाइते भएको उहाँले बताउनु भयो ।

श्रीसमाथि नगर प्रहरीले गरेको दुर्व्यवहार र ज्यादतीलाई प्रत्यक्ष नियालेका बुटवलका युवा युगेन्द्र गौतमले आफू त्यहाँ पुगेर नगर प्रहरीलाई नरोकेको भए ती महिलाको घाँटीमा पासो लागेर ज्यान जानसक्ने अवस्था रहेको बताउनु भयो । ‘नगर प्रहरीले ज्यादती गरेको देखेपछि मैले त्यसो नगर्नुस भन्दा मसँग पनि झगडा गरेको थियो । ती दिदीको झण्डै ज्यान गएन । यस्तो अमानवीय हर्कत नगर प्रहरीले रोक्नुपर्छ’, उहाँले भन्नुभयो । अर्की महिला फुलकुमारी क्षेत्रीले नगर प्रहरीले गर्ने हर्कत बताएर साध्य नभएको बताउनु भयो । सडकमा डोको बोकेर हिँड्दै गर्दा लखेटेर एकान्त ठाउँमा पुर्‍याएर संवेदनशिल अङ्गमा हात लैजाने र आफूलाई दुर्व्यवहार धेरै पटक गरेको उहाँले बताउनु भयो । नगर प्रहरीको ज्यादतीका कारण कतिपय दिदी बहिनीहरूको खुट्टा भाँचिएको र कतिपयको खुट्टाको औला भाँचिएको बताउनु भयो ।

घरमा सबै पुगेसरी भए सडकमा डोको बोकेर यो तातो घाममा कसलाई रहर हुन्छ, यसरी दिनदिनै दुर्व्यवहार सहेर स्थानीय विकास क्षेत्रीले भन्नुभयो । सम्झाउने वैकल्पिक व्यवस्थापन गर्ने तर्फ ध्यान दिनुको सट्टा सडकमा लुगा च्यातिदिने लछार पछार गर्ने, संवेदनशिल अङ्गमा हात पुर्‍याउने गरेको भन्दै यस्तो मानवता विरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने उहाँले बताउनु भयो । एक वर्षअघि नगर प्रहरीले लखेट्दा योगीकुटीकी नर्मदा भण्डारीको दुर्घटना भई खुट्टा भाँचिएको बताउँदै नगर प्रहरीबाट बच्न खोज्दा कारले हानेर खुट्टा भाँचिएपछि आठ दिन अस्पताल बस्दासम्मको १ लाख ४० हजार कारधनीले दिएका तर त्यसपछिको करिब डेढ लाख आफ्नो खर्च भएको भण्डारीले बताउनु भयो । अहिले पनि खुट्टाभित्र स्टिलको रड रहेको हुँदा उपचार जारी रहेको भण्डारीले बताउनु भयो ।

सडकबाट भागेर बजारका घर र होटेलमा आश्रय लिन पुगेको अवस्थामा समेत नगर प्रहरीले हातपात र दुर्व्यवहार गर्ने, सामान खोसेर लगिदिने गरेको बुटवल उपमहानगरपालिका-११, मजुवाका इन्द्र नेपालीले बताउनु भयो । नगर प्रहरीको ज्यादती विरुद्ध आवाज उठाउँदा घरमै आएर धम्की दिने गरेको भन्दै अरु उपाय नभएर सडकमा सामान बेचेर गुजारा गर्ने नागरिकलाई लखेटेर, कुटपिट गरेर नभई निश्चित ठाउँ र समय तोकेर गरिखान दिनुपर्ने आफूहरूको माग रहेको बताउनु भयो । ‘उपमहानगरपालिकाले यिनीहरू थोरै छन्, यिनको पक्षमा कोही छैन भन्ने ठानेर नगर प्रहरी मार्फत अमानवीय व्यवहार र दादागिरी शैली प्रदर्शन गरेको छ, यो रोकिनुपर्छ र नागरिक समाज, अधिकारकर्मीले हाम्रो मागमा बोलिदिनुपर्छ । मेयरको नारा एउटा छ । व्यवहार ठीक उल्टो छ, नेपालीले भन्नुभयो ।

बुटवल उपमहनगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा बसोबावास गर्ने विभिन्न जिल्लाका सबै नागरिकका लागि बैकल्पिक उपाय गर्न नसकिने र सम्भव नहुने बताउँदै बुटवलका स्थायी नागरिकका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यस विषयमा आफुहरू छलफल गरिरहेको बताउनु भयो । बुटवलमा आउने सबैका लागि सम्भव नभएको तर बुटवलका जनताका लागि यो बुटवलको दायित्व भएको हुनाले आफूहरू संवेदनशिल भएको नगर प्रमुख पाण्डेले जानकारी दिनुभयो । सडक व्यपारी महिलाहरूलाई नगर प्रहरीले गरेको दुर्व्यवहारका विषयमा आफूलाई जानकार नभएको साउन १८ गे शनिवार भएकोले कार्यालय पुगेर मात्र सो विषयमा भन्न सक्ने अवस्था रहेको उहाँले बताउनु भयो । उहाँले यदि लुगा नै च्यातिने गरेर दुर्व्यवहार भएको हो भने त्यो दुखद घटना भएको उहाँले उल्लेख गर्नुभयो । घटना बारे थप कुरा बुझेर मात्र भन्नसक्ने उहाँले बताउनु भयो ।

अधिवक्ता महेन्द्र पाण्डेले कसैलाई पनि दुर्व्यवहार गर्नु पक्ष दुखद भएको भन्दै दुर्व्यवहार गर्ने व्यक्ति उपर कारवाही गर्ने र पीडितलाई न्यायमा पुर्‍याउनका लागि सहयोग र सहजीकरण गर्नुपर्ने बताउनु भयो । उहाँले कसैलाई पनि दुर्व्यवहार गर्न नमिल्ने उल्लेख गर्नुभयो । अझ सार्वजनिकस्थलमा महिलालाई लछार पछार गर्नु, लुगा च्यातिदिने जस्ता ज्यादती राज्यपक्षले गर्नु भनेको मानवता विरुद्ध र महिला विरुद्धको गम्भीर अपराध भएको उहाँको भनाइ छ ।

अन्य

भिडियो