भारतको उत्तराखण्डको रुद्रपुरबाट ६ जना नेपाली युवतीको उद्धार गरिएको राससले जनाएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्याइएका सिन्धुपाल्चोकका युवतीको माइती नेपाल कञ्चनपुरले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखनविरुद्धको इकाइको सहयोगमा उद्धार गरिएको हो ।
रुद्रपुर प्रहरीले शङ्का लागेर सोधपुछ गर्दा अवैधरूपमा दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएको भेटिएपछि मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललाई खबर गरेका थिए । युवतीका साथबाट भारतीय प्रहरीले राहदानी र अन्य वैदेशिक रोजगारसम्बन्धी कागजपत्रसमेत फेला पारेको छ ।
उद्धार गरिएका युवतीको उमेर २० देखि २५ वर्ष रहेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् । उद्धार गरिएका युवतीहरूलाई रुद्रपुरमै राखिएको छ ।
यसैबीच, मानव तस्करीमा संलग्न तीनजनाविरुद्ध भारतको रुद्रपुरस्थित अदालतमा मानवबेचबिखन विरुद्धको मुद्दा दर्ता गरिएको संयोजक भट्टले बताइन् ।
उनका अनुसार सिन्धुली टाँडीकी नानीमाया माझी, पर्साका विष्णु लोप्चन र सिन्धुपाल्चोकका सोमबहादुर गोलेविरुद्ध रुद्रपुरमा मुद्दा दर्ता गरिएको छ ।