INSEC Online

📅 २०८३ जेष्ठ २२

जिल्लाका ६ सय ८ जना बालबालिकामा कुपोषण

दाङमा विगत एक वर्षमा ६ सय ८ जना कुपोषित बालबालिका भेटिएका छन् । आर्थिक वर्ष ०८०/८१ मा भेटिएका ६ सय ८ जनामध्ये ४ सय ७० जना बालबालिकामा कडा खालको कुपोषण पाइएको छ भने १ सय ३८ जनामा मध्यम कुपोषण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दाङका १० स्थानीय तहमा रहेका २२ ओटा कुपोषण उपचार केन्द्रबाट सङ्कलन गरिएको तथ्याङ्कले अझै पनि बालबालिका कुपोषित हुने क्रम नघटेको पाइएको हो । आर्थिक वर्ष ०७७/७८ मा १ सय ११ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको थियो भने ७ सय ८२ जनामा मध्यम खालको कुपोषण थियो । आर्थिक वर्ष २०७८/७९ मा बढेर ५ सय ४ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको थियो । अरु ७ सय २८ जनामा मध्यम खालको कुपोषण देखिएको थियो । आर्थिक वर्ष ०७९/८० मा ६ सय ८० जना बालबालिकामा कुपोषण हुँदा ४ सय १५ जनामा कडा खालको कुपोषण फेला परेको स्वास्थ्य कार्यालयका फोकल पर्सन गजेन्द्र यादवले जानकारी दिनुभयो ।

स्तनपानमा आमाले ध्यान नदिँदा बालबालिकामा कुपोषण बढेको कार्यालयले जनाएको छ । स्तनपानका फाइदाबारे ध्यान नदिँदा आमा र बच्चा दुवैमा समस्या देखिने फोकल पर्सन यादवले बताउनु भयो । शरीर बिग्रिन्छ भन्ने भ्रमले स्तनपान नगराउँदा आमामा स्तन क्यान्सर र पाठेघर क्यान्सरको जोखिम छ भने बच्चाहरू कुपोषित हुने गरेको उहाँको भनाई छ । जन्मेको एक घण्टा भित्रै आमाले विगौती दूध चुसाउनुपर्छ । विगौती दूधमा सम्पूर्ण रोगसँग लड्न सक्ने शक्ति बढी हुन्छ । यादवले भन्नुभयो, ‘आमाको दूधमा सबै रोगसँग लड्न सक्ने शक्ति हुन्छ र त आमाको दूधलाई नै पहिलो खोप मानिन्छ ।’

६ महिना मुनिका बालबालिकालाई आमाको दूध मात्रै खुवाउनुपर्ने चिकित्सकहरूको सुझाव छ । तर दाङमा सरकारी तथ्याङ्कले ६ महिनासम्म दूध चुसाउने आमाहरू शतप्रतिशत छैनन् । आर्थिक वर्ष ०७७/७८ मा २५.२ प्रतिशत मात्रैले जन्मेको एक घण्टा भित्र आमाको दूध चुसाएका थिए । कुल ४ हजार ९ सय ६३ जनाले मात्रै जन्मेको एक घण्टा भित्रै आमाको दूध चुसाएका थिए । यस्तै आर्थिक वर्ष ०७८/७९ मा ६ महिनासम्म आमाको दूधमात्र खुवाउने सङ्ख्या ६५.१ प्रतिशत थियो भने आर्थिक वर्ष ०७९/८० मा ६१.८ अर्थात ७ हजार ६० र आर्थिक वर्ष ०८०/८१ मा ७९.९ प्रतिशत अर्थात ८ हजार ८ सय ८८ जनाले ६ महिनासम्म आमाको दूधमात्र खुवाएको पाइएको छ ।

अन्य

भिडियो