INSEC Online

📅 २०८३ जेष्ठ २१

नियमित बजार अनुगमन नहुँदा अखाद्य बस्तुको बिक्री वितरण बढ्दै

बजार अनुगमन कार्य नियमित नहुँदा बजारमा अखाद्य बस्तुको बिक्री वितरण हुने गरेको पाइएको छ । म्याद गुज्रेका जङ्कफुड ग्रामीण बजारहरूमा धमाधम रूपमा पठाउने गरेको अनुमगनका क्रममा पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनको क्रममा म्याद सकिनै लाग्दा वा म्याद सकिएपछि ती बस्तुहरू बिक्रीका लागि ग्रामीण बजारहरूमा पठाउने गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत रमा श्रेष्ठले बताउनु भयो । तानसेनका विभिन्न घरहरूमा डेरा भाडामा लिएर बिक्री वा पैठारीका लागि राखिएका अखाद्य बस्तुहरू बरामद गरिएको उहाँले बताउनु भयो । चिसो र फोहोर कोठामा लथालिङ्ग रूपमा यस्ता सामाग्रीहरू राखिएको र प्रायः कुहिने अवस्थामा भेटिएको उहाँले बताउनु भयो ।

म्याद गुज्रेका र उत्पादन मिति समेत उल्लेख नभएका अधिकांश बालबालिकाले खाने जङ्कफुड रहेको उहाँले बताउनु भयो । केही व्यापारीले ती कुहिएका र म्याद गुज्रेका जङ्गफुड गाउँमा पुगेर बिक्री गर्दै आएको र उपभोक्ताले गुनासो गर्न थालेपछि आकस्मिक अनुगमन गरिएको उहाँले बताउनु भयो । बालबालिकाले अत्याधिक मन पराउने इमिलीमा ढुसी लागेको फेला परेको पाइएको छ । प्याकेटमा भएका कतिपय इमिली, चना र धमका खजाना कुहिएका अवस्थामा भेटिएका छन् ।

म्याद गुज्रेका तथा सडेगलेका अवस्थामा फ्लेबर चकलेट, बर्फी, डेरी मिल्क, ट्याङ्ग, जिरा, मेथी, अजिना, करेन्ट मसला, पिरोरोल चकलेट लगायतका सामग्री फेला परेका थिए । तानसेन नगरपालिका-४ मा रहेको शिव मङ्गल जनरल स्टोर्स, फूल कुमारी सप्लायर्सले मापदण्ड विपरित सामग्री बिक्री गरेका भेटिएको हो । शिव मङ्गल जनरल स्टोर्सका कमोद कुमार यादवले रिब्दीकोट गाउँपालिका-१, ख्याहास्थित एक विद्यालयमा पुगेर ती अखाद्य बस्तुहरू बिक्री गरेका थिए ।

गाउँघरमा सामग्रीको गुणस्तरीयता र अवस्थाबारे ध्यान दिँदैनन् । बालबालिकालाई त झन यसबारे केही थाहा हुँदैन । ती व्यापारीले बजारभन्दा पनि बढी गाउँ केन्द्रित व्यापार गर्दै आएको पाइएको श्रेष्ठले बताउनु भयो । घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाका प्रमुख श्यामकुमार पौडेलले नियमित बजार अनुगमन नहुँदा यस्ता गलत क्रियाकलापहरू बढ्दै गएको बताउनु भयो । उहाँले अहिले बजार अनुगमनको जिम्मेवारी स्थानीय तहहरूमा रहेको बताउनु भयो । अनुगमनका क्रममा करिब ५० हजार बराबरको मापदण्ड विपरीतका सामग्री जफत गरी नष्ट गरिएको छ ।

स्थानीय तह कार्यान्वयन पछि बजार अनुगमनको जिम्मेवारी पनि स्थानीय तहमा सरेको छ । स्थानीय तहहरूले समेत बजार अनुगमन कार्यविधि बनाएका छन् तर नियमित रुपमा अनुगमन हुन सकेको छैन । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बजार अनुगमन कार्यबिधि बनेपनि जनशक्ति अभाव लागयतका कारणले नियमित रूपमा बजार अनुगमन गर्न नसकिएको बताउनु भयो ।

नेपालको संविधानको मौलिक र कर्तव्यको धारा ३६ मा खाद्यसम्बन्धी हकको उपधारा १ मा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने व्यवस्था छ । त्यस्तै उपधारा २ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक र उपधारा ३ मा प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुने व्यवस्था छ । तर त्यसको व्यवहारमा कार्यन्वयन हुन नसक्दा उपभोक्ता मर्कामा परेका हुन् ।

Photo31072024Palpa2

Photo31072024Palpa1

Photo31072024Palpa

अन्य

भिडियो