INSEC Online

📅 २०८३ जेष्ठ २१

३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” पूर्णिमाया लामालाई

Purnimaya Lamaयस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत नमोवुद्ध नगरपालिका ९, दाप्चा, काभ्रेपलाञ्चोककी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गर्ने निर्णय इन्सेकले गरेको छ । इन्सेक कार्यसमितिको २०८१ साउन ७ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उहाँलाई ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार”बाट सम्मानित गर्ने निर्णय गरेको इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार” प्रदान गर्दै आएको छ ।

नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गरिंदै आएको छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व.दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मा, रुकैया खातुनलगायत २९ जना सम्मानित भइसक्नु भएको छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ‌ओलीको प्रमुख आतिथ्यमा २०८१ साउन १६ गते ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजना हुने एक कार्यक्रमकाबिच लामालाई सम्मान गर्ने कार्यक्रम रहेको पनि इन्सेकले जनाएको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार नगद प्रदान गरिन्छ।

 

अन्य

भिडियो