आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक ५ गते आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।
पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ ओटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
पहिलो चरणको निर्वाचन सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, ओलखढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुने छ ।
उक्त मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि साँझ ५ बजेम्म चल्नेछ । उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।
प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउनु पर्ने कानुनी व्यवस्था रहेको राससले जनाएको छ ।
त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवाले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ ।
पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाताले मताधिकारको प्रयोग गर्नुहुने छ । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको लागि ४ हजार ४ सय ६५ मतदान स्थल र २ हजार ९ सय ४६ मतदान केन्द्र कायम गरिएको छ ।