जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाजुराको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७ / ०७८ र ०७८ / ०७९ भन्दा पछिल्लो आर्थिक वर्ष २०७९ / ०८० र ०८० / ०८१ मा दोब्वरको सङ्ख्यामा नवजात शिशुको मृत्यु भएको पाइएको छ ।
सरकारले हरेक वर्ष स्वास्थ्यलाई नै मुख्य प्राथमिकतामा राखेर करोडौँ बजेट छुट्याएर कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि विकट जिल्लामा नवजात शिशु मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
बच्चा जन्माउन गाउँकै स्वास्थ्य संस्थासम्म पुगे पनि रेफर गरेपछि भने आर्थिक अभावले सुविधायुक्त अस्पतालमा पुग्न नसकेर बाटोमै बच्चा जन्मिएका थुप्रै उदाहरणहरु छन् । गर्वावस्थामा स्वास्थ्य संस्था जानु पर्छ भन्ने थाहा नपाएर घरमै सुत्केरी गराउने परम्परा, जनचेतनाको अभाव र शिशुको हेरचाहमा कमिका कारणले शिशुको मृत्यु हुदै आएको छ ।
आर्थिक वर्ष २०७७ / ०७८ मा चार जना, ०७८ / ०७९ मा दुई जना, २०७९ / ०८० मा नौ र ०८० / ०८१ मा ११ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाजुराका तथ्याङ्क अधिकृत रुगुम थापाले बताउनु भयो । जिल्लामा दिनप्रतिदिन मृत्यु हुने नवजात शिशुको सङ्ख्या बढ्दै गएको थापाले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका प्रमुख महेश चन्दका अनुसार पहिले स्वास्थ्य संस्थाको सङ्ख्या कम हुँदा दुर्गमका नागरिकसम्म सहज रुपमा स्वास्थ्य सेवा पुग्न नसक्दा पनि शिशु मृत्युको सङ्ख्या कम देखिएको भए पनि अहिले सहजै रुपमा स्वास्थ्य सेवाको पहुँचले पनि मृत्यु हुने नवजात शिशुको सङ्ख्या बढेको देखिन्छ । जिल्लामा मृत्युदर र स्वास्थ्य अवस्थाको वास्तविक तथ्याङ्क संकलनका लागि गत वर्ष सबै स्वास्थ्यकर्मीहरुका लागि मातृ तथा नवजात शिशु मृत्यु निगरानी कार्यक्रम सञ्चालनपछि मृत्यु हुने नवजात शिशुहरुको तथ्याङ्क बढेको हुनसक्ने बताउनु भयो ।
जिल्लामा मुख्य रुपमा नवजात शिशु हरेचाहसम्बन्धी आम नागरिकमा जनचेतनाको कमी, स्वास्थ्य संस्थामा सुत्केरी हुने र २४ घण्टासम्म स्वास्थ्य संस्थामा नबसेर सुत्केरी भए लगत्तै घर जाने लगायतका कारणले नवजात शिशुको मृत्यु हुने गरेको र पछिल्लो दुई वर्षयता जिल्लामा हरेक वर्ष ६ देखि आठ जना नवजात शिशुको मृत्यु भइरहेको प्रमुख चन्दले बताउनु भयो ।