पाल्पा अस्पतालमा आठ महिनादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । रेविज रोग विरुद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल पाल्पामा रेविजको सुई लगाउन आउने बिरामीहरू त्यसै फर्कन बाध्य भएका छन् ।
अस्पतालमा आठ महिनादेखि भ्यासिक्न अभाव भएको अस्पतालका स्टाफ नर्स सूचना अधिकारी प्रतिमा पाठकले बताउनु भयो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति विभाग बुटवलबाट यसअघि भ्याक्सिन आउने गरेकोमा पछिल्लो आठ महिनादेखि भ्याक्सिन नआएकोले समस्या भएको उहाँले बताउनु भयो । अस्पतालबाट पटक पटक भ्याक्सिन माग भए पनि उपलबध हुन नसकेको उहाँको भनाइ छ ।
पाल्पा अस्पतालमा भ्याक्सिन हुँदाको समयमा बिरामीले स्वास्थ्य बीमा सेवा अन्तर्गतबाट निःशुल्क भ्याक्सिन लिन पाउने गरेका थिए । तर अहिले बिरामीले अन्य नीजि अस्पताल वा मेडिकलबाट पैसा तिरेर भ्याक्सिन लगाउन बाध्य भएका हुन् ।
रेविज विरुद्धको भ्याक्सिन औषधि पसलहरूमा भने प्रति भाइल ६ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ । कुकुरले टोकेका व्यक्तिले तीन पटक रेविज विरुद्धको भ्यक्सिन लगाउनुपर्ने हुन्छ । यहाँ दैनिक दुईदेखि पाँच जनासम्म बिरामी रेबिज रोग विरुद्धको खोप लगाउन आउने गरेका छन् । बगनासकाली गाउँपालिका–३ का आशिष रसाइलीले निःशुल्क पाउनुपर्ने खोप किनेर लगाउनु परेको बताउनु भयो ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था गरिएको भए तापनि सरकारी अस्पतालबाट निःशुल्क रूपमा पाउने स्वास्थ्य सेवाबाट नागरिक वञ्चित भएका हुन् ।