राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता अनिवार्य हुँदा ज्येष्ठ नागरिकलाई समस्या भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गर्न लागेको खबरपछि जिल्ला प्रशासन कार्यालयमा दैनिक रूपमा राष्ट्रिय परिचयपत्र बनाउनेहरूको भीड हुँदा उक्त समस्या भएको हो । राष्ट्रिय परिचय बनाउनकै लागि ज्येष्ठ नागरिक तथा सेवाग्राहीहरूले सास्ती भोग्दै आएका छन् ।
पाल्पामा राष्ट्रिय परिचयपत्र बनाउन आएका लाभग्राहीहरूले सिधै राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउन पाउँदैनन् । उनीहरूको नागरिकता २०६२ अगाडि बनेको र जिल्ला प्रशासनबाट पुनः प्रतिलिपि नलिएको भए नयाँ नागरिकता बनाउन अनिवार्य छ ।
ज्येष्ठ नागरिक तथा सेवाग्राहीले सबैभन्दा पहिले नागरिकताको प्रतिलिपि लिनुपर्छ । पुरानो नागरिकताको आधारमा यस अघि भत्ता लिइसकेकाहरूले पनि राष्ट्रिय परिचयपत्र बनाउने प्रयोजनकै लागि नयाँ नागरिकता बनाउनुपर्ने अनिवार्य छ ।
२०६२ माघ १८ गते माओवादीको सशस्त्र जनयुद्धकालमा पाल्पा दरबार र जिल्ला प्रशासन कार्यालयमा तत्कालीन माओवादीले गरेको आक्रमणका क्रममा सबै रेकर्ड तथा कागजपत्र जलेर नष्ट भएका थिए । जिल्ला प्रशासन कार्यालयमा त्यस अघिको कुनै पनि रेकर्ड छैन । त्यसैले नयाँ नागरिकता अनिवार्य लिनुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनु भयो । सबै प्रक्रिया पुरा गरेर नागरिकता बनाएपछि मात्रै राष्ट्रिय परिचयपत्र बनाउन पाइने अवस्था रहेको उहाँको भनाइ छ ।
नयाँ नागरिकताका लागि पनि सनाखत गर्ने वंशजभित्रकै सदस्य उपस्थित हुनुपर्ने अनिवार्य छ । आवश्यक प्रक्रिया नमिले उनीहरू वडामै फर्किएर जानुपर्छ । यसका कारण पनि जिल्ला प्रशासनमा बढी भीडभाड हुने गरेको छ ।
भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि आफूहरूलाई टाढाबाट जिल्ला प्रशासन कार्यालयमा आउनु परेको ज्येष्ठ नागरिकहरूको भनाइ छ । पूर्वखोला गाउँपालिका–१, सिलुवाका ७६ वर्षीय वीरबहादुर खासुले सरकारले ल्याउन लागेको नयाँ नियमका कारण आफूहरूलाई दुःख भएको बताउनु भयो । बगनासकाली गाउँपालिका–९, चापपानीका ७४ वर्षीय तेजलाल तिमिल्सिनाले पनि फेरि नागरिकता बनाउने र राष्ट्रिय परिचयपत्र बनाउने क्रममा धेरै दुःख पाएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले भने गलत सूचनाका कारण एकै पटक भिड बढेको जनाएको छ । पाल्पामा सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । तर उक्त अनिवार्यता आगामी माघ १ गतेदेखि मात्रै हुने भनिए पनि ज्येष्ठ नागरिक र सेवाग्राहरूको भीड बढेको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनु भयो ।
जनप्रतिनिधि र गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी नै मितिमा स्पष्ट नभएपछि सर्वसाधारणले दुःख पाएको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रेस विज्ञप्ति समेत जारी गरेको छ । समयमै राष्ट्रिय परिचयपत्र बनेन भने भत्ता पाइँदैन भन्ने गलत सूचनाका कारण पनि भीड बढेको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनु भयो ।
कतिपय अवस्थामा यसअघि गाउँमा टोली पुगेका बेला परिचयपत्र खिचाएका व्यक्तिहरू पनि सम्बन्धित कागजपत्र हराउँदा थप अलमल भइ टाढाबाट फेरि जिल्ला प्रशासन कार्यालयमा आउने गरेको सहायक जिल्ला प्रशासन कार्यालय रानाले जानकारी दिनुभयो ।