INSEC Online

📅 २०८३ जेष्ठ २१

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज २९ गते पेश गर्नुपर्ने

निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची असोज २९ गते पेश गर्ने मिति तोकेको जनाएको छ ।

आयोगले आयोजना गरेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी दुई दिने अभिमूखीकरण कार्यक्रम असोज २२ गते सम्पन्न गर्दै उम्मेदवारको बन्दसूची पेश गर्ने तरिकाको बारेमा राजनीतिक दललाई जानकारी गराउँदै यस्तो जानकारी दिएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फबाट उम्मेदवार छनौट गर्न राजनीतिक दलहरूलाई सहज हुने उद्धेश्यले ८८ राजनीतिक दललाई समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको आयोगले जनाएको छ ।

आयोगमा दर्ता रहेका ९१ राजनीतिक दलमध्ये दुई दिनमा गरी समानुपातिकतर्फदर्ता भएका ८८ राजनीतिक दललाई संविधान र ऐनले व्यवस्था गरेबमोजिम उम्मेदवारहरूको बन्दसूची पेश गर्ने तरिकाका विषयमा सहजिकरण गरेको हो ।

दोस्रो दिन असोज २२ गते निर्वाचन आयुक्त इला शर्माले राष्ट्रियसभा सदस्य ऐन बनाउन समानुपातिक र समावेशी हुनका लागि एकल सङ्क्रमणीय मतप्रणाली अनुसारको राष्ट्रियसभा सदस्य विधेयक पारित होस् भन्ने आयोगको चाहना रहेको बताइन् ।

‘राष्ट्रियसभा पनि समानुपातिक र समावेशी हुनका लागि एकल सङ्क्रमणीय व्यवस्था अनुसारको राष्ट्रियसभाको कानुन संसद्बाट पारित होस् भन्ने आयोगको चाहना छ ।’-शर्माले भनिन्-‘स्थानीय तहदेखि माथि राष्ट्रियसभासम्म नै संविधान र लोकतन्त्रको मर्मअनुसार समावेशी समानुपातिक प्रतिनिधित्व हुन सकेन भने संविधानको भावना नसमेटिन सक्छ ।’

निर्वाचन आयुक्त नरेन्द्र दाहालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची पेश गर्दा आउन सक्ने अस्पष्टतालाई प्रशिक्षणले सहज हुने बताए । यसैगरी आयुक्त इश्वरीप्रसाद पौड्यालले नेपालका लागि समानुपातिक निर्वाचन प्रणाली नयाँ भएकाले मतपरिणाम घोषणा गर्ने सुत्र तथा बन्दसूचीको क्रम मिलाउनेलगायतका विषयमा प्रशिक्षणबाट प्रष्ट हुन सकिने बताए ।

आयोगका आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउनका लागि आचारसंहिताको उल्लङ्घन गर्ने जो कोहीलाई पनि आयोगले नछोड्ने चेतावनी दिए । ‘आचारसंहिता भनेको स्वःअनुशासन हो । जनताको विश्वास प्राप्त गरेको व्यक्तिले जित्नुपर्छ भन्ने लोकतन्त्रको मान्यता हो ।’-शाहले भने-‘ठूलो जुलुस लिएर उम्मेदवारी मनोनयन गरियो भने चुनाव जितिन्छ भन्ने सोच त्याग्नुपर्छ । निर्वाचनलाई मितव्ययी र पारदर्शी तुल्याउनुपर्छ ।’

त्यसैगरी निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न गराउन राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।

आयोगले असोज २२ गते आयोजना गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षण प्रशिक्षक तालिमको उदघाटन गर्दै आयोगका निर्वाचन आयुक्त इला शर्माले यस्तो आग्रह गरेकी हुन् । प्रशिक्षणमा नेपाल सरकारका सचिव एवम् सहसचिवको मुख्य प्रशिक्षकको सहभागिता रहेको छ ।

आगामी मङ्सिरमा हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पवित्र तुल्याउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने अठोट शर्माले व्यक्त व्यक्त गरेकी छन् ।

आयुक्त नरेन्द्र दाहालले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनको व्यवस्थापन सरल तुल्याउने र मतदाताको सहभागिता बढाउने दिशामा सबैको सहयोगी भूमिका हुनुपर्ने बताए ।

प्रशासकीय अदालतका अध्यक्ष एवम् संविधानविद् काशीराज दाहालले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन आचारसंहिता उल्लङ्घन गर्ने पक्षलाई कानुन अनुरूप कारबाही गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

आयोगका सहसचिव नवराज ढकालले मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको क्रममा मतदाता नामावलीलाई अन्तिमरूप प्रदान गरिएको, मतपत्र छपाइको काम सुरू भएको, विभिन्न नौ प्रकारका तालिम प्रशिक्षण चलिरहेको जानकारी दिए ।

अन्य

भिडियो