INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोगले सोध्यो पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृतलाई स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेललाई नेपाली काङ्ग्रेसको विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुँदै कार्यकर्तासँग भेटघाट गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा असोज १९ गते आयोगको कार्यालयमा बसेको बैठकले अधिकृत पोखरेललाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्णय गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यकारी अधिकृतले असोज १० गतेदेखि असोज १८ गतेसम्म प्यूठान जिल्लाका विभिन्न स्थानमा काङ्ग्रेसको कार्यक्रममा सहभागी हुदै कार्यकर्तासँग भेटघाट गरी निर्वाचन आचार संहिता उल्लङ्घन गरेको उजुरी आयोगमा परेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

‘सार्वजनिक पदधारण गरेको व्यक्तिले कुनै दल विशेषको कार्यक्रममा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको देखिँदा यहाँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जबाफ पेश गर्न राष्ट्रिय पुन निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेललाई स्पष्टीकरण सोध्ने’ आयोगले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

यसैबिच निर्वाचन आयोगले प्यूठानका प्रमुख जिल्ला अधिकारीलाई प्यूठानमा रहेका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेललाई जिल्ला छोडने व्यवस्था तुरुन्त मिलाउन आदेश दिएको छ ।

आयोगको बैठकले अधिकृत पोखरेलले नेपाली काङ्ग्रेसको कार्यक्रममा सहभागी हुँदै कार्यकर्ता भेटघाट गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको उजुरी आयोगमा परेकाले उनलाई जिल्ला छोडने व्यवस्था तुरुन्त मिलाउन आदेश दिने निर्णय गरेको हो ।

‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले असोज १० गतेदेखि प्यूठान जिल्लाका विभिन्न स्थानहरूमा नेपाली काङ्ग्रेसका कार्यकर्तासँग भेटघाट एवम् पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा निज प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेललाई तुरून्त प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ’-आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले हस्ताक्षर गरी प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई असोज १९ गते लेखेको पत्रमा उल्लेख गरिएको छ ।

अन्य

भिडियो