INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार तथा सञ्चारकर्मीमाथि दुर्व्यवहार

Jhadap 1
कालिकामाई गाउँपालिका-२ गदियानी निवासी ४५ वर्षीय पत्रकार छठु साहमाथि ०८१ असार १ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको छ । पीडित पत्रकार वीरगञ्जबाट प्रकाशित कालिका टाइम्स दैनिक पत्रिका र अनलाइनका प्रबन्ध निर्देशक र रेडियो पोखरियाका अध्यक्ष हुन् ।

कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीस्थित कृषि तथा पशु उपशाखा सञ्चालनमा रहेको भवन भत्काउने क्रममा असार १ गते प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपमा परी सोही ठाउँका ५० वर्षीय मंसि साह तेली र ३५ वर्षीय ओम प्रकाश साह तेली घाइते भएका छन् । उहाँहरूको उपचार सोही दिन स्थानीय स्वास्थ्य चौकीमा भयो ।

झडपकै क्रममा पुरुष प्रहरीले एक जना महिलामाथि ज्यादती गर्दै गरेको भिडियो बनाउँदा प्रहरीले आफूमाथि पनि दुर्व्यवहार गर्नुका साथै मोबाइल समेत फुटाइदिएको र दिनभरी नियन्त्रणमा लिई सोही दिन साँझ छाडेको पत्रकार साहले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर राजन ढकाल नेतृत्वको प्रहरी टोलीले स्थानीयमाथि ज्यादती गरेको एक स्थानीयले बताउनु भयो ।

पत्रकारमाथि भएको अमानवीय घटनाको नेपाल प्रेस युनियन पर्सा समाजवादी प्रेस संगठन नेपालले असार २ गते छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गरेको छ ।

उक्त विज्ञप्ती मार्फत प्रेस युनियन पर्साका अध्यक्ष विजय कुमार महतो (चौहान) र समाजवादी प्रेस संगठन नेपाल पर्साका सचिव विनोद पटेलले घटनाको घोर भत्र्सना र निन्दा गर्दै दोषी प्रहरीलाई कारबाही र क्षतिपूर्ति असुल उपर गराउन माग गरेको छ । त्यस्तै, आरोपित प्रहरीलाई कारबाही नगरिए प्रहरीको ज्यादतीविरुद्ध दुवै संगठन सङ्घर्षमा उत्रिने चेतावनी समेत विज्ञप्ती मार्फत दिएका छन् ।

समाचार प्रयोजनको लागि भिडियो खिच्ने सञ्चारकर्मीको अधिकार भएपनि प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनोवृत्तिमा देखा परेको पर्साका सुरक्षाकर्मीले सञ्चारकर्मी साहमाथि आक्रमण गरी प्रेस स्वतन्त्रतामाथि नै आक्रमण गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Jhadap 2

Mobile

अन्य

भिडियो