INSEC Online

📅 २०८३ जेष्ठ २१

भारतीय सुरक्षाकर्मीद्वारा गिरफ्तार गरिएका देवनारायणको रिहाइको माग गर्दै प्रदर्शन

भारतीय सुरक्षाकर्मीद्वारा गिरफ्तार गरिएका सप्तरीका देवनारायण यादवको बिना शर्त रिहाइका लागि पहल गर्न सरकारलाई दबाव दिने उद्धेश्यले मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले असोज १७ गते काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

प्रदर्शन कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले देशभक्तिपूर्ण व्यवहार गरेकै कारण रिसिइवी साँधेर देवनारायणलाई बिना कारण गिरफ्तार गरी दुःख दिएको आरोप लगाए । उनले भने-‘सवालिकहरूले आपसी रजाबन्दीमा विवाह गर्न पाउने भारतीय कानुनकै बर्खिलाप गरिएको भारतीय प्रहरीको ज्यादतीको नमूना हो यो ।’

नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शम्भू थापाले कानुनी प्रक्रियामा जाँदा प्रमाणको रूपमा रहेको देवनारायणकी बुहारी तथा उनका परिवारको संरक्षण सरकारले गर्नु पर्ने विचार राखे ।

परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले यस घटनामा सरकार चुप लागेर बस्नै नहुने उल्लेख गर्दै कुटनीतिक पहलमार्फत यादवलाई छुटाउन सरकारलाई आग्रह गरे । भारतले नेपालको सीमा क्षेत्रमा अनुचित रूपमा बाँधहरू बनाएको भन्दै उनले बौद्धिक जगत, सीमाविद र नागरिक समाजका प्रतिनिधिहरूले भारतको ज्यादतीको घोर भत्सर्ना गर्नु पर्ने बताए ।

नेपाल बार एशोसिएशनका पुर्व उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले भारतीय सुरक्षाकर्मीले गिरफ्तार गरेका देशभक्त देवनारायणको बारेमा सरकारले केही सार्वजनिक नगरेकोले तत्काल उनको रिहाइको लागि पहल गर्नु पर्ने बताए ।

विश्लेषक डा.सुरेन्द्र केसीले घटनाको चुरो पत्ता लगाउनु पर्ने उल्लेख गर्दै परनिर्भर सरकार र राजनीतिक दलहरूले देशभक्त नागरिकको हक अधिकारको रक्षा गर्न नसक्ने ठोकुवा गरे ।

नेपाल सरकारका पूर्वसचिव द्वारिका ढुङ्गेलले राष्ट्रले सम्मान गरेको व्यक्तिलाई भारतीय सुरक्षाकर्मीले गिरफ्तार गरेको उल्लेख गर्दै उनको रिहाइका लागि लाग्नु पर्नेमा सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । उनले भने-“छिमेकी चाहिन्छ । तर, छिमेकीले कस्तो व्यवहार गर्छ ? त्यसप्रति सचेत रहनु पर्छ ।”

सप्तरी जिल्ला तिलाठी गाउँपालिका-४ का देवनारयाण यादवका छोरा अजयकुमारलाई भारतीय सुरक्षाकर्मीले सप्तरीको तिलाठीको सीमावर्ती भारतीय बजार कुनौलीबाट असोज १४ गते गिरफ्तार गरेको थियो । गिरफ्तार छोराको बारेमा बुझ्न गएका देवनारायणलाई असोज १४ गते नै भारतीय प्रहरीले गिरफ्तार गरेको थियो ।

देवनारायण र उनका छोरा अजयविरुद्ध गत जेठ २० गते भातरको कुनौली ग्राम-१ बस्ने ज्योतीकुमारी साहलाई अपहरण गरेको उजुरी दर्ता भएकोले गिरफ्तार गरिएको भारतीय सुरक्षकर्मीले जनाएको बताइएको छ । तर, अपहरणमा परेको भनिएकी ज्यातीकुमारीले आफू अपहरणमा नपरेको र अजयकुमारसँग विवाह गरेर आएको अभिव्यक्ति सार्वजनिक गरेकी छन् ।

गत वर्ष नेपाल र भारतीय सीमा क्षेत्रमा रहेको खाडो नदीमा भारतीयहरूले बाँध बाधेपछि सो क्षेत्र डुबानमा परेको बेला देवनारायणको अगुवाईमा सो बाँध भत्काउँदा झडप भएपछि उनी घाइते भएका थिए ।

.

.

.

.

.

.

.

.

अन्य

भिडियो