जिल्ला सदरमुकाम गमगढीमा खानेपानीको अभाव भएको छ । झ्यारी खोलामा रहेको पानीको स्रोत सुक्दै गएपछि खानेपानीको समस्या भएको हो । सुख्खा, मौसम र वर्षा नभएका कारण जिल्ला भर पानीका स्रोतहरू सुक्दै गएपछि गमगढी बजारमा खानेपानीको हाहाकार भएको हो ।
जिल्लामा ०५६ सालमा गमगढी बजारमा रहेका ९० घरलाई लक्ष्य गरी वितरण शुरु गरिएको खानेपानी अहिले दुई दशक भन्दा बढी समयसम्म ४ सय भन्दा बढी घर धुरीमा खानेपानीका धारा जडान गरिएको छ । बढ्दो जनसङ्ख्या, बजारीकरण सँगै खानेपानी वितरणमा समयानुकूल सुधार, मर्मत र थप विकासका कार्य नहुँदा अहिले गमगढी बजारमा खानेपानीको समस्या भएको गमगढी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गोर्ख बहादुर मल्लले बताउनु भयो ।
उहाँका अनुसार माग बराबरको खानेपानी उपलब्ध नहुँदा अहिले यहाँका उपभोक्ता संस्थाले लोडसेडिङ गरेर बजारबासीलाई खानेपानी वितरण भइरहेको छ । तत्कालीन समयमा गमगढी बजारमा २ सय घर जति थिए । त्यो बेला यहाँका ९० घरधुरीलाई लक्षित गरी खानेपानीको व्यवस्था गरिएको थियो । अहिले गमगढी बजारमा घर बढेर ७ सय भन्दा बढी पुगिसकेका छन्। जनसङ्ख्या व्यापक बढेपनि खानेपानीको स्रोत थप गरिएको छैन ।
खानेपानी कार्यालयबाट पटक पटक पाइपलाइन मर्मत र पानी सङ्कलन ट्याङ्की बनाइ दिएकाले मुहानबाट आएको पानी जम्मा गरेर बजारमा बिहान एक भागलाई र बेलुका एक भागलाई दिनमा एक घण्टा पानी दिँदै आएको गमगढी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मल्लले जानकारी दिनु भयो । पानीको स्रोत कम छ । दिनभर र रात भर १ सय घन मिटरका दुई ओटा ट्याङ्कीमा जति पानी जम्मा भयो बजारमा त्यति पानी पठाउने गरेकाे उहाँको भनाइ छ ।
बढ्दो जनसङ्ख्या र बजारीकरणले गर्दा हाल खानेपानीको क्षमताले बजार धान्दैन । खानेपानीका पुराना सबै संरचना विस्थापन गरी कम्तीमा १ हजार घरधुरीलाई पुग्ने संरचना बनाइदिन सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूसँग निर्णयसहित समितिले पटक पटक आग्रह गरेपनि कुनै निकायबाट सुनुवाइ नभएको समितिका अध्यक्ष मल्लले गुनासो गर्नुभयो । लोडसेडिङ गरेर जसोतसो समितिले ४ सय ३० घर तथा कार्यालयहरूलाई दैनिक एक घण्टा पानी दिँदै आएका छौ । मासिक शुल्क २ सय दिनुहुन्छ । सबैको घरमा पानी जाँदैन कार्यरत कर्मचारीलाई तलब दिन पनि समस्या पर्छ । समितिको अन्य आय स्रोत नहुँदा मर्मत सम्भार गर्न पनि आर्थिक अभाव हुने गरेको उहाँले गुनासो गर्नु भयो ।
खानेपानीको मुहान सदरमुकाम गमगढीबाट १५ किलोमिटर टाढा रारा राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्र रहेको झ्यारी खोलामा पानीको स्रोत भएकोले कहिले पहिरो, कहिले जिल्लामा बन्ने सडक, सिँचाइ त कहिले बाढीले पाइपलाइन सहित अन्य संरचनामा क्षति हुँदा हप्ता दिनसम्म पनि बजारबासीलाई पानी वितरण गर्न सकस हुने गरेको छ । पाइपको साइज मुहानदेखि बजारको जम्मा ट्याङ्कीसम्म एउटै हुनु पर्ने हो समितिको आर्थिक अवस्था कमजोर भएका कारण कतै पाइप चुँडियो, कतै बगायो भने जति साइजको पाइयो त्यही साइज जडान गरी खानेपानी नियमित गर्ने गरेका छौँ । यही कारणले पनि एकै साइजको पाइपमा पानी आउन पाउँदैन र बजारमा पानीको अभाव भइरहेको उहाँले बताउनु भयो ।
गमगढी बजारमा माथिल्लो बजार, शीतल बजार, माथिल्लो न्युरोड, बागबजारका घरहरूमा समितिले दैनिक एक घण्टा पानी दिए पनि तल्लो बजार, तल्लो न्युरोड, कृष्णचोक देखि तलका घरहरूमा भने एक घण्टा पनि पानी नआउने गरेको स्थानीयहरूले गुनासो गरेका छन् । मासिक शुल्क तिर्दासमेत पानी नपाएको र घरका धारामा पानी नआएपछि ३० मिनेट टाढा रहेको हुलुम खोला र चैन खोलामा रहेका धाराहरूबाट खानेपानी ल्याएर पिउनु परेको स्थानीय रोश जैसीले बताउनुभयो । खानेपानी वितरण हुँदा माथिका घरमै सकिन्छ तलका घरहरूमा पानीनै आउँदैन । खानेपानीको लागि चैन खोलामा जानु बाहेक अरु विकल्प नरहेको स्थानीय ताराचन्द्र चौलागाईंले गुनासो गर्नुभयो ।
आफ्नो पाइप लाइनमा कहिले पनि पानी आउदैन एक घण्टा हिँडेर चैन खोला जानु पर्ने बाध्य भएको अर्का न्यूरोडका व्यवसायी जुनतारा खड्काले बताउनुभयो । आफूले खानेपानीको शुल्क मात्र तिर्ने तर कहिले पनि तल्लो बजारमा पानी नआउने गरेको तल्लो बजारका अर्का स्थानीय ददिराम कुमाईले बताउनु भयो ।
आफूले खानेपानीको विषयमा दुई वर्षदेखि आवाज उठाउदै आएको र यसमा खानेपानी उपभोक्ता समितिनै बजेट माग्ने कुरामा निष्क्रिय भएको छाँयानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्य मल्लले बताउनु भयो ।
यसै गरी,सोरु गाउँपालिकाको १, २, ३ र ६ नम्बर वडाका १८ बस्तीमा गाउँघर नजिकका मूल सुकेका र सरकारी संयन्त्रबाट दीर्घकालीन पानीका योजनाहरू प्राथमिकतामा नपरेपछि लामो समयदेखि खानेपानीको हाहाकार भोग्नु परेको छ । सोरु गाउँपालिकाभित्र ११ ओटा वडा छन्। सबैभन्दा बढी १, २, ३ र ६ नम्बर वडाका १८ बस्तीका १ हजार ३ सय ७९ घरधुरीले खानेपानीको समस्या भोग्दै आएका छन् ।
सोरुका स्थानीय पदम मल्लका अनुसार जब चैत सुरु हुन्छ लामो वर्षा नभएसम्म बस्तीहरु जहिले पानीको अभाव हुने गरेको छ ।

