क्षमताभन्दा बढी कैदी बन्दी राख्दा कैदीबन्दीहरूको स्वास्थ्यमा समस्या देखिएको छ । ३ सय ५२ जनाको क्षमता रहेको जिल्ला कारागारमा अहिले ५ सय १३ जना कैदीबन्दीहरू रहेका छन् ।
कारागारमा अहिले अधिकांश छालाका बिरामीहरू झण्डै ७५ प्रतिशत, प्रेसर, सुगर मुटुरोगी, नशासम्बन्धी रोगको औषधि खाने ४६ जना, एचआईभी सङ्क्रमित एक जना रहेका छन् भने रोगीहरू १२ जना रहेको र औषधि सेवन गर्नेहरू २५ वर्षदेखि ७८ वर्ष उमेर समूहका रहेको जिल्ला कारागार कपिलवस्तुका निमित्त प्रमुख जेलर रेशमलाल भुसालले बताउनु भयो । कारागारमा उमेर समूहको हिसाबले २१ वर्षदेखि ८१ वर्ष उमेरका रहेका छन् । जसमध्ये ६५ वर्षमाथि उमेर समूहका १० जना ज्येष्ठ नागरिहरू रहेका छन् ।
जिल्ला कारागारमा ४ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सामान्य समस्या भए पनि अस्पताल नै लैजानुपर्ने बाध्यता रहेको छ । अस्पतालमा कार्यरत अहेव बढुवा भएर अन्यत्रै गएपछि कार्यबोध थपिएको र नियमित चेकजाँचमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
अहिले कपिलवस्तु कारागारमा ३ सय १६ जना कैदी र २ सय ३८ जना बन्दीहरू गरी जम्मा ५ सय १३ जना रहेका छन् । जसमध्ये सबैभन्दा बढी, बलात्कारका १ सय ३१ जना, लागुऔषधका १ सय २३ जना, बेचबिखन तथा ओसार पसारका १३ जना र कर्तब्य ज्यानका १ सय १५ जना, बहुविवाहका सात जना, ज्यान मार्ने उद्योगका ३८ जना, अपहरण तथा शरीर बन्धकका सात जना, सवारी ज्यानका ३८ जना र चोरीका ११ जना लगायतका रहेका छन् ।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरू राख्दा सुत्न, बस्न, शौचालय जान, नुहाउन पालो कुर्नुपर्ने बाध्यता रहेको छ । अत्यधिक गर्मी र क्षमताभन्दा बढी कैदीबन्दी राख्दा कारागारमा छाला र छालाजन्य रोगको सङ्क्रमण बढेको छ । कारागारमा बस्ने झण्डै ७५ प्रतिशतभन्दा बढी कैदीबन्दीमा छालाको सङ्क्रमण रहेको जिल्ला कारागार कपिलवस्तुका निमित्त प्रमुख भुसालले बताउनु भयो ।
निमित्त प्रमुख भुसाल भन्नुहुन्छ, ‘ख वर्गको कारागारको क्षमता ३ सय ५२ जनाको हो । तर क्षमताभन्दा बढी राख्नु पर्दा यो गर्मीमा कस्तो अवस्था होला ? तपाई आफै अनुमान गर्नुस् ।’ साँघुरो ठाउँका कारण क्षमताभन्दा बढी सङ्ख्यामा राख्नुपर्दा स्वास्थ्यमा विभिन्न खालका समस्याहरू आएका छन् । उनीहरू आधारभूत आवश्यकताबाट वञ्चित हुनुपरेको अवस्था छ भने क्षमताभन्दा बढी बस्नुपर्दा शौचालय जाँदा र नुहाउन पनि पालो कुर्नुपर्ने बाध्यता छ ।
कारागारमा कैदीबन्दीहरूले बाँसका बुढा बनाउने, भादगाउँले टोपी बुन्ने जस्ता सीपहरू सिकेर आर्थिक उपार्जन समेत गरेका छन् । कारागारमा रहेका कैदीबन्दीहरूले एउटा मुढाको मुल्य ३ सयदेखी १ हजार २ सयसम्ममा बिक्री हुने गरेको छ । अहिले कपिलवस्तु कारागारमा रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, धनगढी लगायतका जिल्लाका कैदी तथा बन्दीहरू रहेका छन् । कारागारमा रहेका कैदीबन्दीहरूका लागि सरकारले दैनिक ८० रुपियाँ र ७ सय ग्राम चामल उपलब्ध गराउँदै आएको छ ।
