INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी अभावका कारण स्थानीय समस्यामा

परशुराम नगरपालिका–७ मलास गाउँका ३५ घर परिवारले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । मलास गाउँ जिल्लाकै बिकट क्षेत्र हो । यस क्षेत्रका दधिगडा, काजीगडा, बड्डी मलासलगायतका आधा दर्जन बढी गाउँमा वर्षौदेखि खानेपानीको अभाव छ ।

गाउँमा खाानेपानीको सानो मुहान रहेको र हरेक वर्ष गर्मीयाममा उक्त मुहान सुक्दा एक घण्टाको दूरीमा रहेको घट्टेखोलाबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय विरबहादुर धामीले दु:खेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘निर्वाचनका समयमा नेताहरूले खानेपानीलगायतका आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाउँछन् । चुनाव जितेर गएपछि सबै बाँचा र प्रतिबद्धता बिर्सिन्छन् । २०३१ सालदेखि हामीलाई आश्वासन दिँदैआएका छन् । तर, काम गर्दैनन् । वर्षौदेखि खोलाको पानी बोक्दा हात खुट्टा दुखेर थला परिसक्यौँ । निर्वाचनको समयमा बुबाआमा भनेर आउँछन् । जितेर गएपछि हामीलाई हेर्दैनन् ।’

नेता तथा जनप्रतिनिधिले आफूलाई हेपेको महसुस भएको स्थानीय मिना धामी बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ, ‘पानी बोक्न एक घण्टा हिँडेर जानु पर्छ । वर्षेनी खानेपानीको समस्या झेल्नुपरेको छ । आगामी निर्वाचनमा आवश्वासन दिने दल र नेतालाई भोट नदिने पक्षमा छौँ ।’

खोलामा समेत पानी भर्नेहरुको भिड हुनेभएकोले पालो कुर्नु पर्ने समस्या रहेको स्थानीय गीता धामीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाई, गोरुलाई पनी खुवाउनै प‌‌‍र्‍याे । शौचालयको लागि पनि पानी चाहियो । पानी भर्नमै दिन बित्ने गरेको छ । पानीको जोहो गर्दा समय व्यवस्थापन गर्न नसक्दा छोराछोरीहरु भोकै विद्यालय जाने गरेका छन् ।’

समस्या समाधान गर्न पटकपटक स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधिहरुसँग भेटघाट गरी अनुरोध गर्दा समेत सम्बोधन हुन नसक्दा आफूहरुले सास्ती खेप्नुपरेको स्थानीय धनबहादुर धामीले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकहरुलाई समेत खोलाकै पानी पिउनु पर्ने बाध्यता छ । हाम्रो गाउँमा स्वास्थ्य चौकी समेत छैन् । ज्यान जोखिममै राखेर भएपनि खोलाको पानी पिउनु पर्ने बाध्यता छ ।’

खानेपानीको अभावले गर्दा मलास क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको र खानेपानी समस्या समाधान गर्नका लागि स्थानीय तह र वडा कार्यालयको बजेटले मात्रै नपुग्ने भएकोले नगरपालिकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरिरहेको वडा नम्बर ७ का अध्यक्ष कर्णबहादुर धामीले बताउनु भयो ।

खोलाको पानी पिउन बाध्य भएका कारण मानव स्वास्थ्यमा आउने समस्याको जोखिम पनि बढेर गएको उहाँले बताउनु भयो ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनी स्पष्ट व्यवस्था गरिएको भए पनि परशुराम नगरपालिका–७ मलास क्षेत्रका स्थानीयहरु वर्षौदेखि खोलाको पानी पिउन बाध्य छन् ।

photo20240531dadeldhura

अन्य

भिडियो