बर्दिया जिल्लाको बाँसगढी गाउँपालिका-४, नेवादा घर भई नेपालगञ्ज उपमहानगरपालिका-१२, मुक्तीनगर बस्दै आउनुभएकी ३२ वर्षीया गर्भवती महिलालाई ‘बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा पति ३० वर्षीय नवराज मल्ल, नेपालगञ्ज उपमहानगरपालिका-१२ की ४२ वर्षीया अनिता थापा तामाङ, सोही ठाउँकी २१ वर्षीया आँचल तामाङ, १८ वर्षीया आरोसी तामाङ, ५० वर्षीय मङ्गल तामाङ, २६ वर्षीया पुष्पाम चौधरी र २८ वर्षीया पुजा मल्लविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ जेठ १६ गते उजुरी दर्ता भएको छ ।
पीडित महिलालाई आरोपितहरूले जेठ ३ गते जातीय विभेद गरी ‘बोक्सी’काे आराेप लगाएर निर्घात कुटपिट गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको डिएसपी डाँगीले बताउनु भयो । पीडितको स्वास्थ्य उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।