घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक फराकिलो गर्ने काममा ढिलासुस्ती गर्दा नागरिकले धुलो, हिलोलगायतको प्रदूषण व्यहोर्नु परेको आरोप लगाउँदै कान्छाराम शङ्कर माली ठेकेदार कम्पनीका प्रतिनिधि घोराही उपमनपा-१५ का ४० वर्षीय पदम शर्मालाई असोज ५ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेर अमानवीय व्यवहार गरेका छन् ।
ठेक्का लिएको चार वर्ष बितिसक्दा पनि काम अलपत्र पारेको भन्दै कारबाही स्वरूप मोसो छ्यापिएको नेपाल कम्युनिष्ट पार्टी घोराही उपमहानगर जनपरिषदले असोज ५ गते विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ-“बाटो निर्माण कार्य सम्पन्न नहुँदा घोराहीका बासिन्दा तथा यात्रुहरू लामो समय धुलाम्मे भएर सास्ती भोग्नुपरेको व्यापाक जनगुनासो आएपछि यस्तो कारबाही गरिएको हो ।”
ठेकेदारका प्रतिनिधि शर्माले कामको बारेमा गुनासो भए विभिन्न प्रक्रिया हुँदाहुँदै चरित्र हत्या गर्नेगरी अमानवीय व्यवहार भएको प्रतिक्रिया दिएका छन् । यद्यपी अमानवीय व्यवहार गर्नेहरू विरूद्ध कुनै उजुरी दिएका छैनन् । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयकी एसपी दुर्गा सिंहले बताइन् ।