प्रदेश नम्बर दुईको १ सय ३६ स्थानीय तहमध्ये स्थगित रहेको एक मात्र राजविराज नगरपालिका वडा नम्बर १५ को निर्वाचन असोज ५ गते बिहानबाट सुरू भएको छ । मध्यान्हसम्म शान्तपूर्ण रूपमा जारी रहेको छ ।
राजपाका तर्फाट वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि स्थगित रहेको सो वडाको निर्वाचन असोज ५ गते बिहान सात बजेदेखि सुरू भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
शान्तिपूर्ण रूपमा भइरहेको मतदानका लागि मतदाताहरू अत्यन्त उत्साहका साथ लाममा लागेका छन् । राजविराज नपा-१५ स्थित आधारभूत विद्यालय देउरीभरूवा र जनता आधारभूत विद्यालय मुसहर्नियामा रहेको दुई ओटा मतदान स्थलमा पुरूषभन्दा महिलाहरूको भीड बढी लागेको छ ।
देउरी भरूवा मतदान स्थलमा ३ सय ४८ महिला र ३ सय ७९ पुरूष गरी ७ सय २७ मतदाता रहेकोमा बिहान ११ बजेसम्म १ सय ३५ मत खसेको मतदान अधिकृत डम्बरप्रसाद गुप्ताले जानकारी दिए । यसैगरी मुसहर्निया मतदान स्थलमा ४ सय ३८ महिला र ४ सय ७७ पुरूष गरी ९ सय १५ मतदाता रहेकोमा २ सय २० मत खसिसकेको मतदान अधिकृत उपेन्द्रप्रसाद साहले जानकारी दिए ।
सुरक्षा व्यवस्था कडा पारिएको दुवै मतदान स्थलमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जना प्रहरी परिचालित छन् । सशस्त्र प्रहरी मतदान स्थल बाहिर खटिएका छन् भने नेपाली सेनाको बख्तरबन्द गाडीले सडकमा गस्ती गरिरहेको छ ।
नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरी जिल्लाको २ सय ९४ मतदान स्थलको ४ सय ६० मतदान केन्द्रमा असोज २ गते नै शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएर मतगणना जारी रहेको छ । जसमध्ये सप्तकोशी नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुखसहित बहुमत वडामा जित हासिल गरेको छ । अन्य स्थानमा मतगणना जारी रहेको छ ।
राजविराज नपा-१५ को मतदान सम्पन्न भएपछि राजविराज नगरपालिकाको समेत मतगणना असोज ५ गते रातिबाट सुरू हुने मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।