INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमताभन्दा बढी कैदीबन्दी राख्दा स्वास्थ्यमा समस्या

जिल्ला कारागार, भैरहवामा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा कैदीबन्दीहरूको विभिन्न स्वास्थ्यमा समस्या देखिएको छ । १ सय ५० जनाको क्षमता रहेको जिल्ला कारागारमा अहिले ४ सय ९७ जना कैदीबन्दीहरू रहेका छन् ।

अहिले जिल्ला कारागार, भैरहवामा २ सय ६५ जना कैदी र २ सय ३२ जना बन्दीहरू गरी जम्मा ४ सय ९७ जना रहेका छन् । जसमध्ये सबैभन्दा बढी, बलात्कारका १ सय १६ जना, लागु औषधका १ सय १२ जना, बेचबिखन तथा ओसारपसारका पाँच जना र कर्तव्य ज्यानका ५५ जना, बहुविवाहका सात जना, ज्यान मार्ने उद्योगका १६ जना, अपहरण तथा शरीर बन्धकका पाँच जना, सवारी ज्यानका २८ जना र चोरीका ५५ जना, बैङ्किङ कसुरका १२ जना, डाँका चोरीका २९ जना लगायतका रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरू राख्दा सुत्न, बस्न, शौचालय जान पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड बमोजिम भौतिक दुरी कायम हुन नसक्दा छाला र छालाजन्य रोगको सङ्क्रमण बढेको छ । कारागारमा बस्ने ७५ प्रतिशतमा छालाको सङ्क्रमण रहेको जिल्ला कारागार रुपन्देहीका प्रमुख जेलर जगत बस्नेतले बताउनु भयो ।

प्रमुख बस्नेत भन्नुहुन्छ, ‘कारागारको क्षमता १ सय ५० हो । क्षमताभन्दा तेब्बर सङ्ख्या राख्दा यो गर्मीमा कस्तो अवस्था होला ? तपाई आफै अनुमान गर्नुस् ।’ साँघुरो ठाउँका कारण क्षमताभन्दा बढी सङ्ख्यामा राख्नुपर्दा स्वास्थ्यमा विभिन्न खालका समस्याहरू आएका छन् । उनीहरू आधारभूत आवश्यकताबाट वञ्चित हुनुपरेको अवस्था छ भने क्षमताभन्दा बढी बस्नुपर्दा शौचालय जाँदा र नुहाउन पनि पालो कुर्नुपर्ने बाध्यता छ ।

कारगारमा अहिले अधिकांश छालाका बिरामीहरू ७५ प्रतिशत, प्रेसरको औषधि खाने १४ जना, सुगर १७ जना, एचआईभी सङ्क्रमित दुई जना, आँखाको समस्या भएका ३७ जना, नाक कान, घाँटीका १२ जना, थाइराइडका चार जना, पाइल्सका १० जना, हाडजोर्नीका १५ जना, ग्याष्ट्रिकका १८ जना र दाँतको समस्या भएका २० जना रहेको अहेव रमेश नेपालले बताउनु भयो । कारागारमा उमेर समूहको हिसाबले १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन् । जसमध्ये ६५ वर्षमाथि उमेर समूहका तीन जना ज्येष्ठ नागरिकहरू रहेका छन् ।

कारागारमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका एक जना थुनुवा रहेका छन् । अदालतले ३ लाख रुपियाँ धरौटी माग गरेकोमा धरौटी रकम तिर्न नसकेर बन्दीको रूपमा रहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा रहेका कैदीबन्दीहरूका लागि सरकारले दैनिक ८० रुपियाँ र ७ सय ग्राम चामल उपलब्ध गराउँदै आएको छ ।

Photo19052024Rupandehi1

Photo19052024Rupandehi

अन्य

भिडियो