निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धालाई कुण्ठित पार्ने काम भएको ठहर गरेको छ । आयोगले सरकारलाई पत्र लेख्दै मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन आग्रहसमेत गरेको छ ।
सरकारलाई मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन आग्रह गर्दै आयोगले असोज ३ गते आग्रह गरेको छ । असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरिएबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धालाई नै कुण्ठित हुने ठहर गर्दै आयोगले सो निर्णय सच्याउन आग्रह गरेको हो ।
‘आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संबैधानिक निकायहरूबीच संबैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धन्तको अवमूल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकुलसमेत हुने भएकोले मन्त्रिपरिषद बिस्तार गर्ने निर्णय अविलम्ब सच्याउँन आयोगले सरकारसंग आग्रह गर्दछ’ आयोगले सरकारलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
असोज २ गतेका साथै भदौ २६ गते समेत मन्त्रिपरिषद बिस्तार भएको थियो । आयोगले मन्त्रिपरिषद बिस्तारको कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने भएको हुदा यस किसिमका कार्य नगर्न नगराउँन आग्रहसमेत गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।