INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश नम्बर २ मा मतदान सुरु, मतदाताको सहभागिता उल्लासपूर्ण(अपडेट ३ बजे)

अपडेटः ३ बजे

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान भएको राससले जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार सिरहा, बारा, रौतहट र धनुषामा ६५, महोत्तरीमा ६२ तथा सप्तरी, पर्सा र सर्लाहीमा ६०/६० प्रतिशत मतदान भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने जानकारी आयोगले दिएको छ ।

विरगञ्ज माहानगरपालिका- २२ मनियारी मतदान केन्द्रमा दिउँसो २ः३० बजे कुटपिटबाट नेपाली काङ्ग्रेसका दुई जना कार्यकर्ता घाइते भएको इन्सेक जिल्ला प्रतिनिधि केसी लामिछानेले जानकारी दिए ।

घाइते भएका २२ वर्षीय श्रवणकुमार यादव र १८ वर्षीय रोशन यादवले आफूहरूलाई सङ्घीय समाजवादी फोरमका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।

उनीहरूलाई उपचारको लागि एडभान्स मेडिकियर अस्पताल विरगञ्ज लगिएको छ । सो घटनापछि पनि विना अवरोध मदतान नियमित भइरहेको छ ।

अपडेटः १ बजे

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार यहाँ शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ । अपेक्षा भन्दा राम्रो मतदान भइरहेको सरोकारवालाहरूले जनाएका छन् । सबै मतदाता तथा राजनीतिक दलले मतदान प्रकृयामा भएको सक्रियता देखेर खुशी व्यक्त गरेका छन् । अपरान्हसम्ममा ५० प्रतिशत भन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ ।

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको र १२ बजेसम्ममा ६० प्रतिशत मतदान भइसकेको छ । मतदातामा उत्साह छ । सबै मतदाता लाइनमा लागेर मतदान प्रकृयामा सामेल भइरहेका छन् । १७ ओटा स्थानीय तहमध्ये ७ ओटा नगरपालिका र १० ओटा गाउँपालिकाका सबै मतदान केन्द्रहरूमा मतदान सूचारू भइरहेको छ ।

इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनानेदकुमार रविदासका अनुसार धनुषामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । १८ ओटा स्थानीय तह रहेको धनुषामा १२ बजेसम्ममा ५० प्रतिशत मतदान भइसकेको छ ।

पूर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधीको पुख्र्यौली गाउँ नगराइन नपा-८ मा मतदान हुनुभन्दा दुई दिन अघि सामान्य झगडा भएर त्रासको वातावरण बने पनि आज मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । नगराइन नपामा भएका मतदान प्रकृयाको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल, इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमलगायतले पर्यवेक्षण गरेका थिए ।

यसैबिच, बटेश्वर गाउँपालिका-१ लक्ष्मीनिवासको चित्रपुर मतदान केन्द्रमा ६० वर्षीय जोगेन्द्र महतो १२ बजे मतदान सकेर बाहिर आएपछि बेहोस भए । बेहोस भएका महतोलाई उपचारका लागि जनकपुर लाने क्रममा बाटोमै मृत्यु भयो । उक्त मतदान केन्द्रमा नियमित मतदान भइरहेको छ ।

मिथिला नगरपालिका ८ जमुनिया मतदान केन्द्रमा सुरक्षामा रहेका सशस्त्र प्रहरीको राइफल पड्किएको इलाका प्रहरी कार्यालय ढल्केपुरले जनाएको छ । राइफल जमीन तिर पड्कोकोले कुनै क्षति हुन पाएन । तर पनि मतदाताहरूमा भयत्रास भई भागाभाग भएको थियो । केही समयपछि अवस्था सामान्य भएको र मतदान सुचारू रहेको प्रहरीले जनाएको छ ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार सोनमा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार राजदेव यादवमाथि कुटपिट भएको छ । सिंहाशनिक मतदान केन्द्रमा यादवलाई सरोज यादव र राजिव यादवले कुटपिट गरेका थिए । वडा अध्यक्षका उम्मेदवार यादवले लाइनमा रहेका मदतादासँग मत मागेको आरोप लगाएर कुटपिट भएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले दिएको जानकारी अनुसार घटनामा संलग्न दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । उनीहरू फोरम लोकतान्त्रिकका कार्यकर्ता रहेको जनाइएको छ । मतदान शान्पूर्ण रूपमा सुचारू रहेको छ ।

अपडेटः ११ः३० बजे

इन्सेक रौतहट जिल्ला प्रतिनिधि विपिन गौतमका अनुसार मौलापुर नपा-३ स्थित गमरिया प्रावि केन्द्रमा रहेको मतदान केन्द्र माओवादी केन्द्रका कार्यकर्ताले कब्जाको प्रयास गरेपछि झडप भएको छ ।

केन्द्रका कार्यकर्ताले मतदान प्रक्रिया सुचारू रहेको अवस्थामा बिहान १०ः३० बजे बुथ कब्जा गर्न खोजेपछि एमाले र फोरमका कार्यकर्ताले विरोध गरेपछि झडप भएको थियो । त्यसपछि प्रहरीले बुथ आफ्नो नियन्त्रणमा लिएपछि मतदान प्रक्रिया स्थगित भएको जनाइएको छ ।

मौलापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका तर्फबाट रिनाकुमारी साह मेयरकी प्रत्यासी रहेकी छन् । उनी माओवादी केन्द्रका नेता तथा गरिबी निवारण तथा शहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन् ।

इन्सेक बारा जिल्ला प्रतिनिधि लक्ष्मी साह सोनारका अनुसार बिहान ११ बजेसम्ममा जिल्लामा २० प्रतिशत मतदान भइसकेको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सुचारु रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

Photo20170918Bara

प्रदेश नम्बर २ मा मतदान सुरु भएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

Photo20170918Bara1

मतदानका लागि उल्लासमय उपस्थिति देखिएको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका छन् । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेका छन् । गए राति परेको पानीका कारण मौसम शीतल बनेकाले मतदाताहरू बिहानैदेखि मतदानका लागि लामबद्ध थिए ।

Photo20170918Bara2

प्रदेश नम्बर २ मा रहेका १ सय ३६ स्थानीय तहमा आज निर्वाचन हुँदैछ । यसअघि देशका ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भए पनि प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) लगायत दललाई सहभागी गराउन निर्वाचन रोकिएको थियो । राजपासहित निर्वाचनको विपक्षमा रहेका दलहरु सहभागी हुन तयार भएपछि यो क्षेत्रमा आज निर्वाचन भएको हो ।

प्रदेश नम्बर २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । निर्वाचन आयोगका अनुसार, ६ हजार ६ सय २७ पदका लागि त्यहाँ हुन लागेको निर्वाचनमा ३७ हजार २ सय ३६ उम्मेदवार मैदानमा छन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मतमार्फत आफ्ना प्रतिनिधि आज चुन्नेछन् ।

 

अन्य

भिडियो