INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामीको उपचारमा लापर्बाही भएको भन्दै अस्पताल घेराउ

बिरामीको उपचारमा लापर्बाही गरेको भन्दै बिरामीका आफन्तहरूले ०८१ वैशाख २८ गते बुटवलस्थित चौराहा अस्पताल घेराउ गरेका छन् । तिलोत्तमा नगरपालिका–२ का किरण थापाको ०८० मङ्सिर २७ गते दुर्घटनामा घाइते भइ उपचार गर्ने क्रममा चिकित्सकले लापर्बाही गरेको भन्दै आफन्तहरूले उचित क्षतिपूर्तिकाे मागसहित अस्पताल घेराउ गरेका हुन् ।

दुर्घटना भइ उपचारका लागि अस्पताल पुगेका किरणको खुट्टा फ्याक्चर भएको भन्दै चिकित्सकले अप्रेसन गरेका थिए । मङ्सिर २८ गते अप्रेसनपछि पाँच दिनसम्म अस्पतालमै बस्नुभएका किरण घर फर्किएर करिब दुई सातापछि डाक्टरलाई भेट्न अस्पताल जानुभएको थियो । उपचार गर्दा पनि निको नभई समस्या बढेपछि अन्तिम समयमा उपचारका लागि अस्पतालले काठमाडौँ  रेफर गरेका थिए ।

रेफर गर्ने समयमा खुट्टाका सबै मासु कुहिएर फाल्नु पर्ने स्थितिमा पुगेको र अहिले काठमाडौँ कै एक अस्पतालमा उपचारपछि नियमित रुपमा फलाेअपमा रहँदा लाखौँ रुपियाँ खर्च भएको भन्दै पीडितका आफन्तहरूले उपचारमा लापर्बाही भएकोले क्षतिपूर्तिकाे माग गरेको पीडितका दाजु दिवाकर थापाले बताउनु भयो ।

पीडितका दाजुका अनुसार अस्पतालले सुरुमा क्षतिपूर्ति बापत उपचार खर्च दिने मौखिक सहमति गरे पनि हाल आएर उक्त सहमति अनुसार क्षतिपूर्ति दिन नमानेपछि आफूहरूले अस्पताल घेराउ गर्नुपरेको बताउनु भयो ।

‘सुरुमा अस्पतालले के कति खर्च हुन्छ त्यस बापतको रकम दिने विषयमा हेर्छौँ भनेको थियो । अहिले आएर रकम क्षतिपूर्ति दिँदैनौँ, जे गर्न सक्छौ गर भनेपछि बाध्य भएर अस्पताल घेराउ गर्नु परेको हो’, पीडितका दाजु दिवाकरले भन्नुभयो ।

अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुवँरले मङ्सिर महिलामा दुर्घटना परी घाइते भएर आएका व्यक्तिलाई उहाँको साथीले लिएर आएको र खुट्टाको अपरेशन गरेको पाँच दिनमै डिस्चार्ज नभई घरमा जान्छु भन्दै गएको बताउनु भयो । उहाँले दुई हप्तापछि फलाेअपमा आउँदा खुट्टामा सङ्क्रमण अत्याधिक भएकाले काठमाडौँ रेफर गरिएको उल्लेख गर्नुभयो ।

सूचना अधिकृत कुवँरले क्षतिपूर्ति दिने विषयमा कुनै पनि छलफल र सम्झौता नभएको बताउँदै अस्पतालमा चिकित्सकको लापर्बाहीका कारण उपचारका क्रममा कुनै कमजोरी भएमा कानुनी उपचार खोज्न आग्रह गर्दै अस्पतालको तर्फबाट कमजोरी भएको भए कारबाही भोग्न तयार रहेको बताउनु भयो ।

अस्पतालका हाड जोर्नी तथा नशारोग विभाग प्रमुख प्रकाश रानाभाटले पीडित भनिएका बिरामीलाई मानवीय हिसाबले केही सहयोग गर्न आफूहरू तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले गल्ती नै नगरी क्षतिपूर्ति दिने भन्ने कुरा हुँदैन । बिरामीको अवस्था र आर्थिक स्थिति अनुसार मानवीय समवेदनाका हिसाबले केही सहयोग गर्ने कुरा मात्रै हो । यदि उहाँहरूले हामीलाई गल्ती नै गरेको ठान्नुहुन्छ भने कानुनी उपचार र अनुसन्धानका लागि हामी तयार छौँ ।’

घटनालाई मध्यनजर गरी इलाका प्रहरी कार्यालय, बुटवलको टोली सुरक्षाका लागि अस्पतालमा खटिएको थियो । पीडित भन्दै पटक पटक अस्पतालमा क्षतिपूर्तिकाे माग सहित आउन थालेपछि अस्पताल प्रशासनले इलाका प्रहरी कार्यालय, बुटवलमा सुरक्षाका लागि एक महिनाअघि निवेदन दिइएको सूचना अधिकृत कुवँरले बताउनु भयो । विगत पाँच महिनादेखि अस्पताल र बिरामीका आफन्तबीच क्षतिपूर्तिकाे विषयमा विवाद हुँदै आएको छ ।

Photo11052024Rupandehi3

Photo11052024Rupandehi

Photo11052024Rupandehi1

अन्य

भिडियो