निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएको राससले जनाएको छ ।
तेस्रो चरणमा प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सोमबार बिहान ७ बजेदेखि अपराहृन ५ बजेसम्म मतदान हुनेछ । उक्त निर्वाचनका लागि ती जिल्लामा ३ हजार ५ सय ७७ मतदान केन्द्र कायम गरिएको छ ।
प्रदेश नं २ का १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि २६ लाख ६४ हजार ९ सय ५० जनालाई मतदान गर्ने अधिकार छ ।
विगतका निर्वाचनमा राष्ट्रिय औसत बदर मतभन्दा प्रदेश नं २ का जिल्लामा धेरै मत बदर हुने गरेको तथ्यांकका आधारमा आयोगले यसपटकको निर्वाचनमा मतदाता शिक्षामा बढी जोड दिँदै आएको छ ।
त्यस प्रदेशका स्थानीय तहका विभिन्न पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ । बदर मतसङ्ख्या घटाउन प्रत्येक मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउने मतदातालाई सही रूपमा मत सङ्केत गर्न सिकाइरहेको आयोगले जनाएको छ ।
त्यसका लागि मतदाता स्वयम् नै मतदान केन्द्रमा उपस्थित भई मत सङ्केत गर्ने जानकारी लिने तथा परिचयपत्र बुझने व्यवस्था मिलाएको प्रवक्ता ढकालले जानकारी दिए ।
अधिकांश मतदान केन्द्रमा मतदाता परिचयपत्र लिन आउने र सहीरुपमा मतसङ्केत गर्न सिक्ने मतदाताको भीड लागेको आयोगले जनाएको छ ।
स्थानीय भाषामा स्थानीय एफएम रेडियोमार्फ निर्वाचनको प्रचारप्रसार गर्ने तथा गैरसरकारी सङ्घसंस्था र राजनीतिक दलका युवा सङ्गठनलाई पनि मतदाता शिक्षामा सहयोग गर्न आयोगले अपिल गर्दै आएको छ । सडक नाटकमार्फत पनि मतदाता शिक्षा प्रदान गरिएको छ ।
त्यस्तै अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउने कार्ययोजना पनि आयोगले बनाएको छ ।
मतगणनाका लागि आवश्यकताअनुसार १२ टोलीसम्म गठन गर्ने र भरसक पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोच अघि बढाएको छ । त्यसका लागि आवश्यक मतगणना स्थलको व्यवस्था गर्न र प्रत्येक मतदाताको मतको पूर्ण सुरक्षा हुनेगरी सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिइसकेको छ ।