जिल्लामा पुस र माघमा पनि खासै हिउँ परेन । लामो समयसम्म पानी पनि परेको छैन । लामो समयसम्मको खडेरीले हिउँदे बाली सुकेर नष्ट भएको छ ।
पानी नपरेर तुवाँलो लागेर दिउँसै रात परे जस्तो देखिन्छ । यस जिल्लाकाे मुख्य आयस्रोतको रुपमा उत्पादन हुने स्याउ पनि नष्ट भएको छ । साउन र भदौ महिनामा पाक्ने स्याउका फूल बोटमै सुकेका छन् ।
कृषि क्यालेण्डर अनुसार हिउँदे मौसमको मङ्सिर महिनामा गहुँ, जौ रोपिन्छ । हिउँदे बाली राम्रो उत्पादनका लागि पुस र माघ महिनामा हिमपात हुनु पर्दछ । पुस महिनामा परेको हिउँले कृषि उत्पादन बढ्ने र स्याउ बगैंचालाई पर्याप्त सिँचाइ पुग्छ ।
६ देखि सात वर्ष अघिसम्म वर्षेनी पुस महिनामा भारी हिमपात हुने कर्णालीमा पछिल्लो दुईदेखि तीन वर्ष यता हिउँ परेकाे छैन । परे पनि फागुन महिनातिर सामान्य हिउँ पर्ने गरेको छ । सामान्य परेको हिउँले खासै बालिनालीलाई सिँचाइ पुग्ने गरेकाे छैन । चैत र वैशाख महिनाको सुक्खा खडेरीले कृषिजन्य वस्तु सखाप पार्ने गरेको छ । जसका कारण कृषि उत्पादन घट्दै गएको छ । यसले परनिभर्रता पनि बढाउँदै छ ।
पातारासी गाउँपालिका–७ रिनि गाउँका शेर बुढाले दुईदेखि तीन वर्ष यता समयमै हिउँ नपरेपछि बाली राम्रो नभएर उत्पादन घटेको बताउनु भयो । उहाँले भन्नुभयोे, ‘दुईदेखि तीन वर्ष पहिलेसम्म १० देखि १२ बोराका दरले आलु , मकै, जौ, गहुँ उत्पादन हुन्थ्यो । त्यसले चारदेखि पाँच महिना परिवार पालिन्थ्यो । तर पछिल्ला वर्षमा समयमै हिउँ नपरेपछि उत्पादन घटेको छ । पाँचदेखि ६ बोराभन्दा बढी उत्पादन बढ्दैन ।’ यस्तै, तातोपानी गाउँपालिका–२ का किसान दत्त बुढाले १४ देखि १५ बोरा उत्पादन हुने मार्सी धान अहिले घटेर पाँचदेखि सात बोरामा झरेको गुनासो गर्नुभयो ।
अगुवा किसान रामकृष्ण बुढथापाले भन्नुभयोे ‘उत्पादन हुने ठाउँमात्रै भएर भएन । काम गर्ने जनशक्ति चाहियो । युवा सबै खाडीमा छन् । सरकारको नीति उत्पादनमुखी हुनुको साटो वितरणमुखी छ । कृषिप्रधान देशको विडम्बना यही हो ।’
तातोपानी गाउँपालिका – ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले भन्नुभयोे, सुक्खा खडेरी सहितको तुवाँलोले कृषि बालीसहित मानव जीवन समेत प्रभावित भएको छ । स्याउका फूल बोटमै सुकेका छन् । सुक्खा खडेरीले ९० प्रतिशत स्याउका फूल झरेका छन् ।
तातोपानी गाउँपालिका–४ मा ५ सय ६५ घरधुरी मध्ये ४ सय ५० घरधुरीमा न्यूनतम् प्रति घरधुरीले १ सय ५० स्याउका विरुवा रोपेको उहाँले बताउनु भयो । यस जिल्लाको विशेषगरी प्रमुख आम्दानीको स्रोत भनेकै स्याउ खेती हो । प्रमुख आम्दानीको स्रोत नै खडेरीले सखाप पारेपछि कृषकमा जीविकोपार्जनको समस्या बढ्ने देखिएको छ, उहाँले भन्नुभयो । जिल्ला कृषि कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जिल्लामा ४ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ ।
जिल्लाकाे कुल खेतीयोग्य जमिन ३८ हजार ७ सय ८६ हेक्टरमध्ये ३६ हजार ४ सय ३५ हेक्टरमा खेती भइरहेको छ । त्यसमध्ये ३ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको कृषि विकास कार्यालयका अधिकृत लक्षिराम महतले बताउनु भयो ।
तीनै तहका सरकारले कृषिमा पर्याप्त लगानी नगर्नु, जलवायु परिवर्तनले समयमै हिमपात र वर्षात् नहुनुले उत्पादन घट्नु र प्राकृतिक प्रकोपले बालीमा क्षति गर्नु लगायतका कारण खाद्यान्न उत्पादन घट्दै गएको उहाँले भन्नुभयोे
उहाँले भन्नुभयोे, ‘जुम्लामा स्याउ, सिमी, ओखर, मार्सी धानलगायत बालीको उत्पादकत्व वृद्धि भए पनि प्राकृतिक प्रकोपले उत्पादन घट्दो क्रममा छ । आफ्नो उत्पादनले पाँच महिना धान्न मुस्किल हुने र आयात खाद्यान्नकै भर छ । त्यो परनिर्भरता अन्त्य गर्नका लागि उत्पादनमुखी कार्यक्रम जरुरी छ ।’
जिल्लामा २४ हजार ४ सय ३८ घरधुरी रहेको १ लाख १८ हजार ३ सय ४९ जनसङ्ख्या छ । यी मध्ये अधिकांशको मुख्य पेसा कृषि हो । तर कसैलाई आफ्नै उत्पादनले वर्ष दिन पुग्दैन । वर्षेनी उत्पादन घट्दै जाने र उत्पादित वस्तुले पाँच महिना नधान्ने समस्याले अहिले पनि सरकारी अनुदानको चामल पाउन गोदाम तोडफोड गर्नुपर्ने अवस्था छ ।
जिल्लागत रूपमा आवश्यक खाद्यान्न अभावको तथ्याङ्क केलाउँदा जुम्लाको १ लाख १८ हजार ३ सय ४९ जनसङ्ख्याका लागि २३ हजार २ मेट्रिक टन खाद्यान्न आवश्यक भए पनि उपलब्धता ११ हजार ५ सय ९१ मेट्रिक टन छ । ११ हजार ४ सय ११ मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ । अपुग खाद्यान्न अनुदानको चामल र बजारमा बाहिरबाट आउने चामल, गहुँले पूर्ति हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
