निर्वाचन आयोग र स्थानीय प्रशासनको संयुक्त टोलीले सदरमुकाम राजविराजसहित विभिन्न स्थानको सार्वजनिक स्थलमा टाँगिएका/टाँसिएका प्रचार सामग्री भदौ ३० गते रातिदेखि हटाउन थालेको छ ।

प्रदेश नम्बर दुईमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भदौ ३० गते मध्यराति १२ बजेपछि मौन अवधि सुरू हुने भएकाले मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका विभिन्न पार्टीको निर्वाचन चिन्ह तथा प्रचार-प्रसारका सामग्रीहरूका साथै सार्वजनिक स्थल, मठ, मन्दिर, विद्यालयमा लगाइएको प्रचार सामग्री हटाउन थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगतले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।
एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पनि नपाइने आयोगले जनाएको छ ।