स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनका लागि आचारसंहिता पालना गराउन खटिएको केन्द्रीय अनुगमन टोलीले कारबाही अभियान तीव्र बनाएको छ ।
हरेक स्थानीय तहमा पुगेर अनुगमन गरी आचारसंहिता विपरीतका क्रियाकलाप नियन्त्रण कार्य भइरहेको केन्द्रीय अनुगमन टोलीका उद्धव पुडासैनीले बताए ।
भदौ २९ गते लालबन्दी, हरिपुर, कविलासी, मलङ्गवा नगरपालिकासहित ब्रम्हपुरी गाउँपालिका क्षेत्रमा स्थलगत अनुगमन गरिएको उनले जानकारी दिए ।
आचारसंहिता विपरीत टाँगिएका तुल, व्यानर, झण्डा निकाल्ने, डिजे बाजा नियन्त्रणमा लिने, प्रचारप्रसारमा भन्सार नतिरी प्रयोग गरिएका भारतीय सवारी साधन नियन्त्रणमा लिई कानुन अनुसार भन्सार तिर्न लगाउनेलगायत अभियान चलाइएको पुडासैनीले जानकारी दिए ।
नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजपाले आचारसंहिताको चरम उल्लङ्घन गरेको देखिएको उनले बताए । दलहरूकै सहमतिमा निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि त्यसको उल्लङ्घनमा उनीहरू नै अग्रपङ्क्तिमा देखिएका छन् ।