सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेविज विरुद्धको खोप अभाव जिल्ला अस्पताल, दार्चलामा अभाव भएपछि बिरामीहरुलाई थप समस्या उत्पन्न भएको छ ।
जिल्ला अस्पतालमा रेविज विरुद्धको खोप अभाव हुँदा जङ्गली जनावर र घरपालुवा कुकुरले टोकेका बिरामीहरुले समस्या भोग्नुपरेको छ ।
कुकुरले टोकेपछि रेविज विरुद्धको खोप लगाउन जिल्ला अस्पतालमा आएको भए पनि अस्पतालमा खोप नपाएपछि उपचार नगरिकनै फर्किनुपरेको स्थानीय राधिका धामीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘जिल्ला अस्पतालमा खोप लगाउन गए । तर, खोप छैन भनेर रित्तो फर्किनु प¥यो । भारतको पिथौरागढस्थित धार्चुला अस्पताल पुगेर खोप लगाए ।’
भारतको सामुदायिक अस्पतालमा भारतीय आधार कार्ड भए मात्रै खोप निःशुल्क छ । कार्ड नहुनेले बजारबाट महंगो मूल्यमा खोप किनेर लगाउनुपरेको स्थानीय नविन कार्कीले गुनासो गर्नु भयो । कुकुरले टोकेपछि खोपको लागि जिल्ला अस्पताल पुग्दा खोप नपाएरै फर्किनुपरेको उहाँको भनाइ छ ।
भारतीय मेडिकलमा जाँदा १ हजार रुपियाँ तिर्नु पर्ने बाध्यता छ । सरकारले निःशुल्क भनेको रेविज विरुद्धको खोप समयमै उपलब्ध गराउन नसक्दा महंगो मूल्यमा किनेर लगाउनुपरेको कार्कीले बताउनु भयो ।
रेविज विरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा खोपको अभाव रहेको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनु भयो ।
जथाभावी रुपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेविज विरुद्धको खोप लगाउन आउने गरेका भए पनि खोप अभाव भएपछि उपचार नगरि फर्किन बाध्य हुनुपरेको सूचना अधिकारी भट्टले बताउनु भयो ।
रेविज विरुद्धको खोप सुदूरपश्चिममै अभाव छ, भट्टले भन्नु भयो, खोप नआएपछि बिरामीलाई भारत जानु भन्नु पर्ने बाध्यता छ । दिनहुँ बिरामी आइरहेका हुन्छन् । तर, हामीसँग तत्काल उपलब्ध हुन सक्ने अवस्था छैन् ।’
गोकुलेश्वर अस्पतालमा पनि रेविज विरुद्धको खोप अभाव भएको छ । जिल्लाका दुबै अस्पतालमा दुई महिनादेखि रेविज विरुद्धको खोप नआउँदा बिरामीहरु उपचार नगरि फर्किनु पर्ने बाध्यता छ ।