‘बालमैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने नाराका साथ जिल्ला बाल कल्याण समिति र जिल्ला बाल क्लब सञ्जालले भदौ २९ गते बिहान राजविराजमा प्रभातफेरी गरेका छन् ।
‘निर्वाचनमा बालबालिका प्रयोग नगरौँ’, ‘बालविवाह अन्त्य गरौँ’ जस्ता सन्देशमूलक नारासहित सहभागीहरूले नगर परिक्रमा गरेका हुन् ।

सरकारले भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन नसकेको सरोकारवालाहरूले बताएका छन् ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा बालबालिकाको अत्यधिक प्रयोग भइरहेको छ । यसै क्रममा भदौ २९ गते चर्को घाममा राजविराज वडा नम्बर ६ का स्वतन्त्र उम्मेदवार मनोज मेहतरको घरदैलो कार्यक्रममा बालबालिकाहरू झण्डासहित जुलुसमा सहभागी भएका छन् ।

नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको बचावट, विकास, संरक्षण र सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षम्मका बालबालिकाको सङ्ख्या १ करोड ५ लाख ४६ हजार छ ।