INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका-७ सक्रौलका ३७ वर्षीय रामविश्वास महरा चमारमाथि जातीय विभेद गरेको आरोपमा सोही वडाका ४८ वर्षीय सुर्यकान्त यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मलंगवामा ०८१ वैशाख १० गते उजुरी दिनु भएको छ ।

आरोपितले ०८० चैत २९ गते पीडितमाथि जातीय विभेद तथा छुवाछुत र कुटपिट समेत गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडित पक्षले जानकारी दिनु भयो ।

कौडेना गाउँपालिका-८ स्थित सक्रौल गाउँदेखि उत्तर तर्फ रहेको नदीमा पीडितले आफ्नो भैसीलाई पानी खुवाइरहेको बेला आरोपितले “तँ पानीबाट भैसीलाई लिएर बाहिर आइज, तँ चमार, तँ दलित” भनी जातीय विभेद तथा छुवाछुत जस्तो अमानवीय व्यवहार गर्नुको साथै कुटपिट समेत गरेको पीडितको आरोप रहेको छ ।

तर, आरोपितका दाजु ५२ वर्षीय रमेश यादवले आरोपितले पीडितलाई “म नुहाइ सकेपछि तिमी भैसीलाई पानी खुवाउनु” मात्र भनेको र कुटपिट पनि नगरेको बताउनु भयो ।

पीडितको घाउ जाँच सर्लाही जिल्ला अस्पताल मलंगवामा वैशाख ११ गते भएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य

भिडियो