पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आचारसंहिता उल्लङ्घन गर्दै सप्तरीको रूपनी गाउँपालिका-१ मा भदौ २७ गते राति चुनावी सभालाई सम्बोधन गरेका छन् ।
रूपनी गाउँपालिका-१ रूपनी चोकस्थित पार्टीको चुनाव प्रचारप्रसार कार्यालय अगाडि राति ७ बजेर ५५ मिनेटमा सम्बोधन सुरू गरेका दाहालले चुनावी सभामा २० मिनेटसम्म मन्तव्य राखेका थिए ।
निर्वाचन आचारसंहिता २०७२ को ५ (क) को (१०) मा जुलुस, आमसभा, र्याली, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने उल्लेख छ ।
अध्यक्ष दाहालले भदौ २८ गते बिहान साढे ७ बजे राजविराज नपा-७ स्थित नेपाल पत्रकार महासङ्घ सप्तरीको कार्यालयमा चुनावी प्रचार प्रसारबारे पत्रकार सम्मेलनको आयोजना गरेको महासङ्घ सप्तरीका अध्यक्ष जितेन्द्र खडगाले जानकारी दिएका छन् । दाहालले राति अबेरसम्म र बिहान सबेरैदेखि चुनावी कार्यक्रमका लागि भन्दै कार्यकर्ता भेटघाट गरेका छन् ।