आगामी स्थानीय तहको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । राजनीतिक दलहरूले साँझ सात बजेपछि पनि बैठक, भेला गरी प्रचारप्रसार गरिरहेका छन् ।
उम्मेदवारहरू र राजनीतिक दलहरूले अनुमति नलिई एकभन्दा बढी चारपाङ्ग्रे सवारी साधन र दुई ओटाभन्दा बढी मोटरसाइकलहरूको प्रयोग गरिरहेको र आचारसंहिता विपरीत ठूला आकारका व्यानर र झण्डा प्रयोग गरिरहेको मौखिक जानकारी आएको आचारसंहिता अनुगमन अधिकृत ध्रुवबिनोद पोखरेलले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले आचारसंहिता उल्लङ्घनबारे आएको जानकारीसहित अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयलाई ध्यानकर्षण गराइएको बताए ।
उम्मेदवारहरूले घरदैलो कार्यक्रममासमेत ध्वनी उत्पन्न गर्ने साउण्ड बक्सको प्रयोग गरिरहेका छन् । घरदैलो कार्यक्रममा दलहरूका कार्यकर्ताहरूले चुनाव चिन्ह अङ्कित भेष्ट, टोपी, गम्छाको प्रयोग प्रशस्त मात्रामा गरेका छन् ।
उम्मेदवारहरूले मठ, मन्दिर, देवालयलगायत धार्मिक स्थल र विद्यालय, चोक, स्मारकहरूमा प्रचारप्रसारका लागि ठूला व्यानर र चुनाव चिन्ह अङ्कित झण्डाहरू झुण्ड्याएका छन् ।