INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य बिमा कार्यक्रम प्रभाकारी हुन सकेन्, चार वर्षदेखि सुविधा पाउन नसकेको बिमितकर्ताको गुनासो

जिल्लाको पूर्वीउत्तर क्षेत्रका चार ओटा स्थानीय तहका नागरिकलाई लच्छित गरी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट सञ्चालन गरिने  गरी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको भए पनि कुनै प्रकारको सुविधा पाउन नसकिएको स्वास्थ्य बिमा गराउनु भएका स्थानीयको गुनासो छ । स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नहुँदा दुरदरजमा बस्ने स्थानीयहरुले थप समस्या भोग्नु परेको छ ।

स्वास्थ्य बिमा बोर्डको वइभसाईटमा २०७६ जेठ १ गतेदेखि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको रेकर्ड देखिए पनि चार वर्ष वितिसक्दा समेत कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रबाट कुनै प्रकारको सेवासुविधा लागु नगरिएपछि यस क्षेत्रका स्थानीयहरु स्वास्थ्य बिमा सेवाबाट वञ्चित हुदैआएका छन् ।

स्वास्थ्य बिमा ऐन २०७४ र राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार बिमा बोर्डले २०७६ जेठ १ गते कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दुका रुपमा राखेर जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।

जिल्लाका पाँच ओटा स्थानीय तहका लागि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पताल र पूर्वोत्तर क्षेत्रका चार ओटा स्थानीय तहका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु भनिएको छ । स्वास्थ्य बिमा गरेपछि अस्पतालका बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, शल्यक्रिया र सूचिकृत औषधि निःशुल्क पाउने व्यवस्था छ ।

घातक रोगको उपचारमा सजिलो हुने ठानेर यहाँका अधिकांश नागरिक बिमा कार्यक्रममा सहभागि हुनुभएको छ । उहाँहरु मध्येका एक जना बुढीनन्दा नगरपालिका–१ का गंगाराम लुहार पनि हुनुहुन्छ । गाउँमै स्वास्थ्य बिमा गर्न आएका बिमाका कर्मचारीबाट दुई वर्ष पहिले स्वास्थ्य बिमा गराउनुभएका लुहारले कुनै सुविधा पाउन सकेनन् । लाभ नपाएपछि उहाँले दोस्रो पटक बिमा नविकरण पनि गर्नुभएको छैन् । गंगाराम अतिगरिबको सूचीमा सूचिकृत परिवारका सदस्य हुनुहुन्५ । अतिगरिब परिवारका सदस्यहरुलाई स्वास्थ्य बिमाको शुल्क लाग्दैन् ।

मृगौला पीडित गंगारामले दुखाई कम गर्ने औषधि समेत किनेर खानु पर्ने बाध्यत छ । कोल्टीबाट सदरमुकाम मार्तडी पुग्न एक दिन लाग्छ । बल्ल तल्ल पुगे पनि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बिमा कार्डबाट सेवा नपाएको उहाँको गुनासो छ ।

बिमा कार्यक्रम लागु हुँदा कार्यक्रममा सहभागि पाँच जना सदस्य भएको परिवारले वर्षमा बढीमा १ लाख रुपियाँ बराबरको उपचार निःशुल्क पाउने व्यवस्था छ । तर, अहिलेसम्म सम्पूर्ण उपचारको खर्च आफैंले ब्यहोर्नु परिररहेको बुढीनन्दा नगरपालिका मुक्त हलिया अगुवा मनबीर सार्कीले बताउनु भयो ।

स्वास्थ्य बिमा, बाजुराका संयोजक तारा रोकायाका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सञ्चालन नहुँदा बिमितकर्ता बीले सेवा नपाएको बताउनु भयो । स्वास्थ्य संस्थामा आफ्नै फार्मेसी हुनु पर्ने र  निःशुल्क दिनु पर्ने औषधि स्वास्थ्य संस्थामा हुनु पर्ने भए पनि यो व्यवस्था नभएकोले स्वास्थ्य बिमितहरुले सेवा पाउन नसकेको उहाँको भनाइ छ ।

यस क्षेत्रका बुढीनन्दा नगरपालिका, जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकाका १८ हजार  ६ सय ८० जनाले स्वास्थ्य बिमा गरेका भए पनि सेवासुविधा नपाएपछि स्वास्थ्य बिमा नविकरण नगर्ने गरेको सङ्ख्या बढ्दो छ । औषधी सवै मेडीकलबाट किन्नु पर्ने र रिफरका लागि मात्रै स्वास्थ्य बिमा नविकरण गर्नुको कुनै अर्थ नभएकोले नविकरण नगरिएको बिमितहरुको भनाइ छ ।

स्वास्थ्य बिमाका लागि पैसा बुझाउनु नपर्ने भए पनि अन्यको हकमा पाँच जना सदस्य भएको परिवारले ३ हजार ५ सय रुपियाँ बुझाएका छन् । पाँच जना भन्दा बढी सदस्य भएको परिवारका हकमा थप एक ब्यक्ति बराबर ७ सय रुपियाँ अतिरिक्त बुझाउनु पर्छ । यसो गरेपछि प्रति व्यक्ति २० हजारसम्मको निःशुल्क उपचार हुने, सेवा पाउँदा पाँच परिवार भएमा १ लाख, पाँच जना भन्दा बढी भएमा प्रति ब्यक्ति थप २० हजार रुपियाँका दरले सेवा पाउने व्यवस्था छ ।

बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहोराले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि अन्तिम चरणमा रहेको बताउनु भयो । बैशाख पहिलो हप्ता भित्र फार्मेसी सञ्चालनको तयारीपछि स्वास्थ्य बिमा कार्यक्रम लागु हुने नगरप्रमुख बोहोराले बताउनु भयो ।

स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले फार्मेसी सुरु नहुँदा स्वास्थ्य बिमा सुरु गर्न नसकिएको र बिमितकर्ता बी कर्ता सेवा लिन आउँदा निःशुल्क पाउनु पर्ने औषधी नपाउने भएपछि रिफर गर्नुको विकल्प नभएको बताउनु भयो । गएको माघ १ गतेबाट सेवा सुचारु गर्ने तयारी रहेकोमा बिमितकर्ता बीको डुव्लीकेसनका कारण सवै सेवा अनलाईनबाट सुरु गर्ने व्यवस्था गरिएको, कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा नहुँदा पनि सेवा दिन ढिलाई भएकोले सेवा सञ्चालनका लागि फार्मेसी, इन्टरनेट लगायत सबै व्यवस्थापन गरिएकोले वैशाख २० गते उद्घाटन गर्ने गरी काम भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीको भनाइ छ ।

जिल्लामा १ हजार ७ सय ७२ महिला सहित ३ हजार ७ सय ३७ जना मात्रै स्वास्थ्य बिमा कार्यक्रमसँग आवद्धरहेको स्वास्थ्य बिमा बोर्ड, धनगढीको तथ्याङ्क छ ।

अन्य

भिडियो