दैलेख जिल्लाको आठबीस नगरपालिका-५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको उपचारमा डाक्टरको लापरबाहीले मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । तल्लो पेट दुखेपछि मृतक चैत २९ गते प्रदेश अस्पताल,सुर्खेतमा भर्ना हुनुभएको थियो । अस्पतालमा चेकजाँच गराउँदा पाठेघरमा समस्या देखिएपछि उहाँको शल्यक्रिया गर्नुपर्ने डाक्टरको सुझाव अनुसार भर्ना हुनुभयो ।
अस्पतालमा परीक्षण गराउँदा चार महिना अघि सुत्केरी हुँदा पाठेघरमा सालनालका केही अंश बाँकी रहेको भन्दै चिकित्सकले पाठेघर सफा गर्नुपर्ने सुझाव दिए । पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई एक्कासि मृत घोषणा गरेपछि शङ्का उब्जिएको मृतकका जेठाजु हर्कबहादुर बलामीले बताउनुभयो ।‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि हामी त अचम्मित भयौँ,’ उहाँले भन्नुभयो, ‘हिँडेर अस्पताल गएकी भाइबुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन।’
अस्पतालले चैत २९ गते दिउँसो ३ बजेतिर मृत घोषणा गरेको थियो। यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका छन् । अस्पताल परिसर तनावग्रस्त भएको छ । आफन्तले चैत ३० गते बिहान १० बजेदेखि आन्दोलन गरिरहेका छन् ।आन्दाेलनले अस्पतालकाे आकस्मिक सेवा बाहेक अरु सेवा प्रभावित भएकाे छ । घटनाको तत्काल छानबिन गरी गैरजिम्मेवार डाक्टरलाई बर्खास्तसँगै कानुनी कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति हुनुपर्ने मृतकका आफन्तको माग छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताउनुभयो । ‘उहाँको अवस्था गाह्रो नै थियो भन्ने रिपोर्ट छ, अप्रेसन गर्दा भ्रुण फाल्नुपर्ने हुँदा त्यस क्रममा मृत्यु भएको जानकारी आएको छ,’ उहाँले भन्नुभयो, ‘अझै टेक्निकल विषयमा के भएको हो, आज हामी छलफल गर्दैछौँ । ’