INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला सदरमुकाममै खानेपानीको अभाव भएपछि स्थानीयहरु समस्यामा

जिल्ला सदरमुकाममै खानेपानीको समस्या उत्पन्न भएपछि स्थानीय उपभोक्ताहरुले सास्ती खेप्नुपरेको छ ।

खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति, डडेल्धुराले खानेपानी वितरण गर्दै आएको भए पनि गर्मी मौसम सुरु भएसँगै मुहानमा पानीको तह घटेपछि जिल्ला सदरमुकामका रुपमा रहेको अमरगढी नगरपालिका वडा नम्बर २, ४, ५ र ८ मा बसोबास गर्दै आएका स्थानीयहरुले सास्ती खेप्नुपरेको हो ।

जिल्ला सदरमुकाममा खानेपानीको अभावलाई समाधान गर्न ३० कारोड भन्दा बढी लगानीमा खलंगा खानेपानी उपभोक्ता समिति मार्फत साना शहरी खानेपानी योजना सम्पन्न भएको भए पनि गर्मी मौसममा वर्षेनी खानेपानीको अभाव झेल्नुपरेको स्थानीयहरुको गुनासो छ ।

खलंगा खानेपानी उपभोक्ता समितिसँग ३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता भए पनि त्यसको वैकल्पिक व्यवस्था नगर्दा वर्षेनी खानेपानीको समस्या झेल्नुपरेको स्थानीय निर्माला जोशीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘धारामा पानी आउँदैन् । तीन दिनमा एक पटक केही समयको लागि मात्रै धारामा पानी आउछ । पानीको अभावमा बालबालिकाहरुको सरसफाई गर्न, लुगाकपडा धुन, खाना पाउन र शौचालय प्रयोग गर्न सास्ती खेप्नुपरेको छ ।’

चैत महिनाको अन्तिम सातादेखि नै धारामा पानी आउने छोडेपछि पानीकै समस्या टार्न नजिकैका खोलामा ढाउनु पर्ने बाध्यता सृजना भएको स्थानीय निरुता साउदले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘तीन दिनमा एक पटक केही समय मात्रै धारामा पानी आउने भएकोले पानी भर्नकै लागि महिलाहरु अनिदो बस्नु पर्ने बाध्यता छ । गर्मीको समय भएकोले बालबालिकाहरुको सरसफाईमा बढी चासो राख्नु पर्ने हो । तर, पानीको अभावमा बालबालिकाहरुलाई पनि सफासुघर बनाएर विद्यालय पठाउन सकिएको छैन् । धारामा पानी नआए पनि खानेपानी उपभोक्ता समितिले पैशा उठाउन छोडेको छैन् । खानेपानी अभावमा गर्भवती र सुत्केरीहरुले थप समस्या भोग्नुपरेका छ ।’

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डडेल्धुराका प्रमुख कृष्णबहादुर बोगटीले जिल्ला सदरमुकाममा खानेपानीको समस्या समाधान गर्न चालु आर्थिक वर्षमा २ करोड रुपियाँ बजेटको व्यवस्थापन गरिएकोले एक वर्ष भित्रै सदरमुकाम क्षेत्रका स्थानीयहरुले खानेपानीको समस्या भोग्नु नपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘थप मुहानका लागि २ करोड रुपियाँ बजेट व्यवस्थापन गरिएको छ । यो वर्ष पाईप  खरिद गरी आर्को वर्ष खानेपानी पाईप जडानको योजना छ । यसले खानेपानी समस्या सधैका लागि समाधान हुन्छ ।’

२०३४ सालमा १४ ओटा धारामा पानी पुगाउने काम भएको भए पनि उक्त धाराहरु घरधुरीको आधारमा कम भएपछि ०५५ सालदेखि समिति स्थापना गरेर खानेपानी योजना अगाडि बढाइएको र अहिले जनघनत्व बढेर १ हजार ६ सय घरधुरी पुगेकोले खानेपानीको समस्या उत्पन्न भएको खलंगा खानेपानी उपभोक्ता समितिकाका अध्यक्ष जोगराज ऐरले बताउनु भयो ।

हरेक वर्षको चैत महिनाको दोस्रो सातादेखि जिल्ला सदरमुकाममा खानेपानीको समस्या उत्पन्न हुनेगरेकोले यसको निर्घकालिन समाधानका लागि पहल भइरहेको उहाँले बताउनु भयो ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ पिउने पानी तथा सरसफाइमा पहुँचको हक हुने स्पष्ट व्यवस्था गरिएको भए पनि स्थानीयबासीहरु वर्षौदेखि पिउने पानी पाउनबाट वञ्चित छन्।

अन्य

भिडियो