रोल्पा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि त्यहाँ रहेका बन्दीहरूलाई समस्या भएको छ । कैदीबन्दीहरूले कारागारको क्षमताभन्दा धेरै कैदीबन्दी भएको हुनाले बसाई असहज भएको बताएका हुन् ।
कारागार प्रमुख यामलाल वलीका अनुसार ५० जना क्षमता भएको कारागारमा हाल ९६ जना कैदी र २७ जना बन्दी गरी १ सय २३ जना रहेको बताउनु भयो । जसमध्ये महिला कारागारमा नौ जना र पुरुष कारागारमा १ सय १४ जना रहेका छन् । रोल्पा कारागारको कुल क्षमता पुरुष तर्फ ३५ जना रहेको छ भने महिला तर्फ १५ जनाको रहेको छ । पुरुष तर्फ क्षमताभन्दा बढी कैदीबन्दी राख्दा आफूहरू समस्यामा परेको कारागारका मुल नाइके विनय कुमार चलाउनेले बताउनु भयो ।
रोल्पा कारागारका मुल नाइके विनय कुमार चलाउनेका अनुसार बन्दी र थुनुवा बन्दीहरूले सुत्नको लागि ठाउँ नै नभएको, भान्सा साँगुरो भएर खाना खानलाई पालो कुर्नुपर्ने, शुद्ध खानेपानी पर्याप्तमा नरहेको, शारीरिक व्यायम गर्ने ठाउँको अभाव छ ।
त्यस्तै रोल्पा कारागारका महिला नाइके चान्ची घर्तिमगरले महिला बन्दीहरूले कारागारको ठाउँ सानो भएकोले आफूहरूले पर्याप्त रूपमा शारीरिक व्यायम गर्न नपाएको बताउनु भयो । उहाँले उक्त कारागारमा पिउने पानीको समस्या, मनोरञ्जनका लागि खेल मैदानको कमी भएको बताउनु भयो ।
कारागारमा एक जना स्वास्थ्यकर्मीले सबै जनालाई समान्य उपचार गर्ने गरेको र जटिल बिरामी पर्दा रोल्पा जिल्ला अस्पतालमा लगिने गरेको कारागार प्रमुख यामलाल वलीले इन्सेकलाई जानकारी दिनुभयो । उहाँले जिल्ला कारागारको ठाउँ निकै साँघुरो भएको कारण आफ्नो अफिस समेत भाडामा लिएको बताउनु भयो । कारागारमा कैदीबन्दीहरूलाई शीपमूलक तालिमको आवश्यकता भएको हुँदा त्यसको लागि आफूहरूले सबै निकायमा पहल गरेको उल्लेख गर्नुभयो ।
