
धोबिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय प्रमोद कुमार साहमाथि सोही गाउँपालिकाका कार्यपालिका सदस्य ४० वर्षीय दिनानाथ भनिने दिनेश प्रसाद कलवारले ०८० चैत २० गते कुटपिट तथा दुर्व्यवहार गरेको छ ।
गाउँपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृत साहलाई कार्यालय समयमा गाउँ कार्यपालिका सदस्य कलवाहरले गाउँपालिका अध्यक्षको नाम लेखिएको नेम प्लेटले हिर्काउनुको साथै कुटपिट समेत गरेको पीडितले बताउनु भयो । आरोपित कलवारलाई सोही दिन इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको इन्सपेक्टर मोहन बिक्रम साहले बताउनु भयो ।
उहाँले भन्नु भयो– “घटना बारे जानकारी भएलगत्तै गाउँ कार्यपालिकाको कार्यालय लंगडी पुगी आरोपितलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा पठाइयो” ।
पीडित साहको उपचार वीरगंजस्थित नारायणी अस्पतालमा भयो ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरूका अनुसार दिउँसो २ बजे कार्यालय समयमा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले प्रमुख प्रशासकीय अधिकृत साहलाई आफ्नो कार्यकक्षमा बोलाउनु भएको थियो । उक्त कार्यकक्षमा अधिकृत अगावै बसिरहनु भएका आरोपित कलवारले अधिकृत साहलाई गालीगलौज गर्नुका साथै निजको सर्टको कलर समाति लछारपछार गरी हातमुक्का तथा गाँउपालिका अध्यक्षको नाम लेखिएको नेम प्लेट समेतले हिर्काएको थियो ।
धोबिनी गाउँपालिका कार्यालयमा पीडित प्रमुख प्रशासकीय अधिकृत हाजिर भएदेखि कार्यपालिका सदस्य आरोपित कलवारले गैर कानुनी भुक्तानी गर्न दबाब दिनुका साथै सानो तिनो कुरामा विवाद शिर्जना गरी कर्मचारीहरुसँग रिसिईवी साँधी बारम्बार दुर्व्यवहार गर्ने गरेको कर्मचारीहरूको आरोप छ ।
अधिकृत साहमाथि जनप्रतिनिधिबाट भएको दुर्व्यवहार तथा कुटपिट घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले चैत २० गते प्रेस विज्ञप्ती मार्फत उक्त घटनाको घोर भत्र्सना र दोषीलाई तत्काल कारबाहीको माग गरेका छन् ।
साथै दोषीलाई कारबाही नभएसम्म गाँउपालिका अन्तर्गतको आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू ठप्प गर्ने घोषणा समेत कर्मचारीहरूले गरेका छन् । पीडित साहले चैत २० गते दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिनु भयो ।
त्यस्तै, उक्त घटना बारे जिल्लाका कर्मचारीहरूको एक समूहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद भुसालसँग भेटेर जानकारी गराउनु भएको छ । दोषीमाथि कारबाही नभए जिल्लाका सम्पूर्ण कार्यालयको कामकाज बन्द गर्ने उनीहरूको चेतावनी छ ।