
पूर्वाधार विकास कार्यालय सप्तरीका कार्यालय प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर प्रविण प्रताप अधिकारीलाई मधेस प्रदेश सांसद राजविराज नगरपालिका–९ मलेठका ४९ वर्षीय महेशप्रसाद यादवले ०८० चैत १८ गते धक्का दिदै कार्यकक्षबाट निकालेर दुर्व्यवहार गरेका छन् ।
जनमत पार्टीबाट निर्वाचित मधेस प्रदेश सभा सदस्यहरू सकिल मियाँ, शम्भुप्रसाद साह र हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र कुमार माझीसँग कार्यालय प्रमुखको कार्यकक्षमा योजना सम्बन्धी छलफल तथा बहस भई लेखा शाखामा गएर छलफल गर्ने क्रममा एक्कासी आएका सांसद यादव र धिरेन्द्र यादवले कार्यालय प्रमुखमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरू चैत १९ गतेदेखि आन्दोलनमा उत्रिएका छन् । राजविराज नगरपालिका–१३ नम्बर वडामा पर्ने सबै योजनाहरू बारे छलफल भई निष्कर्षमा पुगिसकेको अवस्थामा वडा सदस्य चन्द्रिका यादवले फोन गरी बोलाएर आएका प्रदेश सांसद यादव र धिरेन्द्र यादवले छलफल नगरी हातपात, दुर्व्यवहार गरेको कार्यालय प्रमुख अधिकारीले बताउनु भयो ।
स्थानीय प्रशासनसँग प्रदेश सभा सदस्य यादवमाथि कडा कारबाहीको माग गर्दै हातमा कालो पट्टि बाँधेर कर्मचारीहरू कामकाज ठप्प पारी कलम बन्द आन्दोलनमा उत्रिएका हुन् ।
पूर्वाधार विकास कार्यालय सप्तरीले चैत १९ गते एक प्रेस विज्ञप्ति जारी गर्दै आरोपित यादवमाथि कारबाही नहुञ्जेलसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ । कार्यालय प्रमुख अधिकारी र सूचना अधिकारी तपेश्वर कुमार साहद्वारा जारी प्रेस विज्ञप्तिमा कार्यालय प्रमुखमाथि भएको आक्रमणको घोर निन्दा गरिएको छ । छलफलको क्रममा प्रदेशसभा सदस्य मियाँले समेत पटकपटक टेबुल ठोकेर धम्कीपूर्ण प्रवृत्ति देखाएकोले कार्यालयमा स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण नरहेको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कार्यालय परिसरमा चैत १९ गतेदेखि धर्नामा बसेका कर्मचारीहरूले घटनाका दिन दुर्व्यवहारको दृश्य कैद भएको कार्यालयको सिसी टिभी फुटेजको प्रमाणका आधारमा छानवीन गरी दोषीमाथी कारवाही तथा कार्यालयमा काम गर्ने सुरक्षित वातावरणको प्रत्याभुतीको माग गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी किरण थापालाई एक ध्यानाकर्षण पत्र बुझाउँदै हातपात र दुर्व्यवहार गर्नेहरूमाथि कारवाही नहुञ्जेलसम्म कार्यालयको सम्पुर्ण कामकाज बन्द रहने बताएका छन् ।
नेपाल ईञ्जिनियर्स एशोसिएसन मधेस प्रदेश प्रादेशिक केन्द्रका सभापति गौरी पण्डित र सचिव रामनारायण यादवद्वारा चैत १९ गते जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माँग गरिएको छ । सञ्चालनका लागि कार्यान्वयनमा गइसकेको २ ओटा योजनाको पत्र आफूले पठाएको व्यक्तिलाई नदिएको भनी गाली बेइज्जती गर्दै हातपात गरेको घटनाप्रति प्रादेशिक केन्द्रले खेद व्यक्त गरेको छ । घटनाको निन्दा र भत्र्सना गर्दै जारी गरिएको विज्ञप्तिमा राजनीतिक आडमा कर्मचारीलाई धम्क्याउने, हातपात र दुर्व्यवहार गर्ने अमानवीय क्रियाकलाप बढेको, प्रहरी प्रशासन समेत मुकदर्शक हुने गरेकोले कर्मचारीहरू निरुत्साहित हुन थालेकोमा ध्यानाकर्षण गराइएको छ ।
प्रदेशसभा सदस्य यादवले हातपातको कुरा अस्विकार गर्दै कार्यविधि अनुसार काम नगरी योजना बिक्री वितरण गर्ने हो भने कार्यालय प्रमुखको काम छैन भन्दै कार्यालयबाट निस्किन भनेको बताउनु भयो । उहाँले योजना सञ्चालनको कार्यविधि अपनाएर काम गर्न आग्रह गर्दै आएकोमा १० लाख रुपियाँको योजना आफूखुशी बाहिर जिल्लाका मानिसलाई कोटेशन दिने र २० लाख रुपियाँ योजनाको कोटेशन सूचनामार्फत डाँक बडाबड नगरी कार्यालय प्रमुखले उपभोक्ता बनाउन पत्र नै बिक्रि वितरण गर्ने गरेको पाइएकोले विवाद भएको बताउनु भयो ।


