
अग्नीसाईर कृष्णासवरन गाउँपालिका–१ जण्डोलस्थित गाउँपालिका अध्यक्षको सम्पर्क कार्यालयमा ०८० चैत १६ गते तालाबन्दी गर्न खोजेपछि स्थानीयवासीले प्रतिकार गर्दा झडप भएको छ ।
गाउँपालिका कार्यालयमा तालाबन्दी भएपनि सम्पर्क कार्यालयबाट कामकाज हुने गरेकोले “वेथिति विसंगति विरुद्धको संघर्ष समिति”ले सम्पर्क कार्यालयमा तालाबन्दी गर्न खोज्दा झडप भएको हो । झडपमा आन्दोलनरत पक्षका अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ इटर्वाका ४६ वर्षीय श्याम कुमार चौधरी र तालाबन्दीको विपक्षमा रहेका अग्नीसाईर कृष्णासवरन गाउँपालिका–१ जण्डोलका ३५ वर्षीय दुर्योधन चौधरी र अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ छपकीका ५० वर्षीय बुद्धि राय घाइते भएका छन् । टाउको तथा घाँटीसहित शरीरको विभिन्न भागमा चोटपटक लागेका घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको छ ।
सम्पर्क कार्यालयमा तालाबन्दी गर्न खोज्दा गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी समर्थक स्थानीयवासीले रोकेपछि झडप भएको र भिडन्तको स्थिती सिर्जना हुन नदिन तालाबन्दी नगरी पछि हटेको संघर्ष समितिका सल्लाहकार योगेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।
गाउँपालिका अध्यक्ष चौधरीले अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ इटर्वास्थित बजार कलौनी सितापुरको जग्गा व्यक्तिको नाममा पास गर्न सहयोग गरेको भन्दै इटर्वावासी आन्दोलनमा उत्रिएका हुन् । इटहर्वा बजार कलौनी सितापुरको जग्गा सुरक्षित हुने आधार नबनेसम्म आन्दोलनको कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक अरुण कुमार चौधरीले बताउनु भयो । जमिन्दार देबीनारायण सिंहले ग्रामिण एकीकृत परियोजना लागु हुँदा हाटबजारका लागि मौखिक रुपमा दिएको १ विघा २ कठ्ठा १७ धुर जग्गा उहाँको नाती रञ्जनेश्वरप्रसाद सिंहको नाममा रजिष्ट्रेशन भई राजविराज नगरपालिका–४ का राजेश दास, फुरकान अहमद खाँ, धनुषाका शत्रुघ्न ठाकुर हुँदै चैत २ गते धादिङ्गका बालगोपाल कार्कीको नाममा जग्गा पारित भएको छ । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यपालिकाबाट रोक्का भएको जग्गा एकल निर्णय गरी ठाकुरको नामबाट कार्कीको नाममा पारित गर्न फुकुवा र चारकिल्ला सिफारिश गरिदिएको इटर्वावासीको आरोप छ ।
कार्यपालिकाको फागुन १५ गते को बैठकबाट विगतमा भएको निर्णय र फागुन १६ गते गाउँपालिका र आफूहरु बीच भएको सम्झौता अनुसार गाउँपालिका अध्यक्ष चौधरीबाट जग्गा रोक्का राख्ने निर्णय कार्यान्वयन नभएकाले आन्दोलनलाई थप सशक्त रुपमा अगाडि बढाउन बाध्य भएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले चैत १५ गते गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरी सडक जामसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
झडपपछि आन्दोलनरत पक्षले गाउँपालिका कार्यालय अगाडि चर्को नारा लगाउँदै गाउँपालिका अध्यक्ष चौधरीको पुतला दहन गरी चैत १६ गते अपरान्ह ५ देखि साढे ५ बजेससम्म आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आन्दोलनकारीहरू सडकमा उत्रिएर नारावाजी गर्न थालेपछि सयौंको सङ्ख्यामा सवारी साधानहरू सडकमा थन्किदा हजारौं यात्रुहरू सास्ती खेप्न बाध्य भएका थिए ।


