INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारको क्षमता भन्दा बढि कैदी, व्यवस्थापनमा समस्या

रुकुम पश्चिम कारागारमा क्षमता भन्दा ६ गुणा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । जिल्ला कारागारमा रुकुम पूर्व र रुकुम पश्चिम जिल्लाका कैदी बन्दी राख्दा यो समस्या थप बढेको हो ।

२५ जना क्षमता रहेको कारागारमा १ सय ५४ जना कैदी बन्दी रहेका छन् । रुकुम पूर्वबाट ३८ जना पुरुष र ३ जना महिला कैदी बन्दी रुकुम पश्चिम कारागारमा रहेको कारागार प्रशासक तथा रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

जिल्ला कारागारमा पाँच जना महिला र २० जना पुरुष गरी २५ जना क्षमता रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले बताउनु भएको छ । भवन तथा कारागारमा देखिएका विभिन्न समस्याको समाधानका लागि कारागार व्यवस्थापन विभागमा माग गरी पठाएको भएपनि उक्त मागको हालसम्म सुनुवाई नहुँदा कैदी बन्दीको व्यवस्थापनमा समस्या भएको सहायक सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले गुनासो गर्नु भएको छ ।

कारागारमा ७० वर्षभन्दा माथिका चार जना कैदी बन्दी, १६ महिना र दुई वर्षका बालक पनि रहेका छन् । बाहिरी सुरक्षा सहज भएपनि कारागार भवन सानो हुँदा भित्री सुरक्षामा चुनौती थपिएको सहायक प्रजिअ बडुवालले जानकारी दिनुभयो । ‘पाँच जनाको समूहमा खाना पकाएर खाने गरेका छौँ, दिउँसोको समयमा विभिन्न खेलकुद खेल्ने, सामग्री निर्माण गर्ने गरेर समय कटाए पनि रातको समयमा ठाउँ अभावले सुताइमा समस्या हुने गरेको छ’, एक कैदीले गुनासो गर्नुभयो ।

अहिले कारागारमा बसाई, खानेपानी, शौचालय प्रयोग लगायत सुत्ने स्थानको समेत समस्या हुने गरेको छ । कैदीबन्दी सुत्ने ठाउँको अभावले कोल्टो फेर्न नपाई उठ्नुपर्ने बाध्यता रहेको छ ।

 

अन्य

भिडियो