INSEC Online

📅 २०८३ जेष्ठ २१

नहर भत्किएकाे तीन वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइबाट वञ्चित

चन्दननाथ नगरपालिका – १ स्थित बाढीपहिरोले ठिन्के सिँचाइ (नहर) कुलो बगाएपछि तीन गाउँका किसान तीन वर्षदेखि सिचाईबाट वञ्चित भएका छन् । सिँचाइ नहुदा तीन वर्षदेखि किसानले मार्सी धान रोप्न पाएका छैनन् ।

चन्दननाथ नगरपालिका –१ आचार्यबाडाका रामबहादुर नेपालीले नहर भत्किएकाे तीन वर्षसम्म मर्मत नहुँदा खेतमा मार्सी धान रोप्न नपाएको  बताउनु भयो । भत्किएको ठाउँमा मर्मत गर्न नसक्दा मार्सी धमन फल्ने फाँट बाँझिएको उहाँले भन्नुभयो ।

ठिन्के कुलोले भण्डारीबाडा, आचार्यबाडा र तलिचौरको ज्यूलोमा सिँचाइ भइरहेको थियो । खेत बाँझो छाड्नु परेपछि खाद्यान्नको समस्या भएको छ । समस्या भएपछि मजदुरी गरेर गुजारा चलिरहेको उहाँले बताउनु भयो ।

पहिरोले कुलो भत्काउँदा सयौं किसानको उत्पादन प्रभावित भएको कुलोको नियमित रेखदेख र खेतमा सिँचाइ व्यवस्थापन गर्दै आइरहेका कर्णसिंह कुलालले बताउनुभयो । उहाँका अनुसार तीन गाउँमा ८ सय ७२ राेपनी खेतमा सिँचाइ हुन सकेको छैन । सदरमुकाम खलंगादेखि पातारासी जाने सडक बनाउँदा थर्किएको जमिनमा वर्षाले बाढीपहिरो गएपछि मार्सी फलाइरहेका दुई सय घरधुरीका किसानहरु समस्या भएको छ । अहिले बजारको चामल किनेर खानु पर्ने बाध्यता छ ।

जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले तीन वर्षको पहल पछि मर्मतको बजेट उपलब्ध भएकाले रोपाइँ अघि (नहर) कुलो सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनु भयो । चालु आर्थिक वर्षमा सिँचाइ कार्यालयको ६० लाख बजेटमा (नहर) कुलो मर्मतको काम भइरहेको उहाँले भन्नुभयो  ।

Photo20240321Jumla

अन्य

भिडियो