१७ वर्षीय बालिका बलात्कार गरेको कसुरमा ३६ वर्षीय काकालाई जिल्ला अदालतले १४ वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले ०८० फागुन १६ गते कसुर कायम गरेकोमा फागुन ३० गते १४ वर्ष कैद गरी कसुरदारलाई ५ लाख ६० हजार जरिवाना गर्ने सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला अदालतले गरेको फैसलामा पीडितलाई कसुरदारबाट असुल उपर गरी ५ लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश समेत फैसलामा उल्लेख छ ।
संरक्षक रहेका काकाले भतिजिलाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा पीडितका काकालाई साउन १३ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत् ०८० भदौ ६ गते जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको सोही दिनको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।