पाल्पा जिल्लामा नियमित बजार अनुगमन नगर्दा गुणस्तरीय वस्तु र सेवा उपभोगमा समस्या भएको छ ।
बजार अनुगमन कार्य पर्वको समयमा मात्रै हुने गरेको छ । जसका कारण गुणस्तरीय वस्तु तथा सेवा उपभोगमा समस्या भएको उपभोक्ताहरूको गुनासो छ । बजार अनुगमन स्थानीय तहहरूले गर्नुपर्ने व्यवस्था छ । जिल्लाका १० ओटै स्थानीय तहहरूले बजार अनुगमन कार्यविधि पनि बनाएका छन् । तर बजार अनुगमन कार्य नियमित हुन सकेको छैन ।
बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बजार अनुगमन कार्य नियमित रूपमा गर्न नसकिएको बताउनु भयो । गाउँपालिकाले बजार अनुगमन कार्यविधि २०७४ निर्माण गरेको भए पनि बजार अनुगमन कार्य भने हुन नसकेको उहाँको भनाई छ । अनुगमनका लागि आवश्यक जनशक्ति अभाव लगायतका कारण पनि नियमित अनुगमनमा समस्या भएको उहाँले बताउनु भयो ।
बजार, होटल, मेडिकल, अस्पतालको अनुगमन कार्य चाडपर्वको समयमा मात्र हुने गरेको छ । बजार अनुगमन कार्य नियमित नहुँदा एकातिर अखाद्य वस्तुको बिक्री वितरण हुने र महङ्गो भाउ हुने समस्या रहेको उपभोक्ताहरूको गुनासो छ ।
रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले पनि नियमित बजार अनुगमन गर्न नसकिएको बताउनु भयो । गाउँपालिकामा अनुगमन कर्मचारीको छुट्टै व्यवस्था नहुँदा नियमित अनुगमनमा समस्या भएको उहाँले बताउनु भयो ।
बजार अनुगमन गर्ने, व्यवसायीलाई करको दायरामा ल्याउने, सफा स्वच्छ उपभोग्य वस्तुको बिक्री गर्न प्रोत्साहित गर्ने, मापदण्ड विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनी कारबाही गराउने कार्य बजार अनुगमनका हुन्थ्यो तर जिम्मेवारी स्थानीय तहमा गएपछि प्रभावकारी हुनुपर्ने भए पनि उक्त कार्यहरू पर्वको बेला मात्रै सीमित भएको मानव अधिकार रक्षक सञ्जाल पाल्पाका संयोजक भगवान भण्डारीले बताउनु भयो ।
नेपालको संविधानको मौलिक र कर्तव्यको धारा ३६ मा खाद्यसम्बन्धी हकको उपधारा १ मा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने व्यवस्था छ । त्यस्तै उपधारा २ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक र उपधारा ३ मा प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुने व्यवस्था छ । तर त्यसको व्यवहारमा कार्यन्वयन हुन नसक्दा उपभोक्ता मर्कामा परेका हुन् ।