INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन रोकथामका लागि सबैको सहयोग आवश्यकः सभामुख

व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तिमगरले मानव बेचबिखन तथा ओसारपसार जघन्य आपाराध भएकाले यसको रोकथामका लागि सबैको सहयोग आवश्यक हुने बताएकी छन् ।

‘अबको गन्तव्यः मानव बेचबिखनको अन्त्य’ भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ औँ राष्ट्रिय दिवसका अवसरमा भदौ २० गते काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभामुख घर्तिमगरले यस्तो कुरा बताएकी हुन् ।

समाजमा रहेको यस्तो समस्याले मानव अधिकारको हनन् हुनुका साथै समाजमा नराम्रो सँग विकृतिहरू बढदै आएकाले यसको समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले समाजको जघन्य अपराधको रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसार एक बहुआयामिक, बहुक्षेत्रगत एवम् विश्वव्यापी समस्याको रूपमा रहेकाले यसको समाधानका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।

उनले मानव बेचबिखन एवम् ओसारपसारले मानवको स्वतन्त्रता नै हनन् हुने एक प्रकारको डरलाग्दो समस्याको रूपमा नेपाली समाजमा रहेको उनले बताइन् । यस समस्याको न्यूनीकरणका लागि नेपाल सरकार योजनाबद्ध रूपमा लागेको जानकारी दिइन् ।

‘मानव बेचबिखन नेपालको मात्रै नभएर बिश्वकै एक समस्याको रुपमा रहेको छ’ मन्त्री कोईरालाले भनिन्, ‘यस्ता समस्याको समाधान गर्दै नेपाल सरकारले महिला, बालबालिका लगायतको अधिकार सुनिश्चित गर्नका लागि योजनाबद्ध तरिकाले लागेको छ ।’

संविधानमा उल्लेख भए अनुसार नेपाल सरकार हरेक नेपालीको स्वतन्त्रताको रक्षाका निमित प्रतिबद्ध रहेको बताउँदै उनले आउने दिनमा यस्ता समस्या न्यूनीकरण हुदै जाने विचार राखिन् ।

यसअघि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा काठमाडौँको भृकुटी मण्डपबाट सुरू भएको र्‍याली शहिदगेट, वीर अस्पताल, रत्नपार्क हुँदै कमलादीमा पुगेर समापन भएको थियो । र्‍यालीमा महिला, बालबालिका एवम् समाजको विकास, प्रवर्द्धनको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाहरूको सहभागिता रहेको थियो ।

0 0 0 0 0 0

अन्य

भिडियो