अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा नागरिक दैनिकले समाचार प्रकाशन गरेको भन्दै निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले ८० करोड रुपियाँ बराबरको क्षतिपूर्ति मागदाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नागरिक दैनिकले आयल निगममा भएको भ्रष्टाचारका बारेमा समाचार, लेख तथा सम्पादकीयबाट आफ्नो गालीबेइज्जती भएको दाबी गर्दै खड्काले भदौ १ गते मुद्दा दायर गरेका थिए ।
‘नागरिक दैनिकमा प्रकाशित समाचारहरु संसदीय समितिको छानबिन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीसमेतका आधारमा प्रकाशित भएका हुन् । सार्वभौम संसद्मा भएको बहस तथा छलफलका आधारमा तयार पारिएका समाचार आधारमा मानहानि मुद्दा दायर गर्नु नागरिकको सूचनाको हकमाथि कुठारापात गर्न खोजिएको हाम्रो ठहर छ । सत्यतथ्य समाचार प्रकाशन गरी जनतालाई सूचना प्रदान गर्नु सञ्चार संस्थाको संविधान प्रदत्त अधिकार हो ।’-इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खड्काले आफूमाथि लागेको सार्वजनिक अभियोगको ध्यान अन्यत्र मोड्न नागरिकमाथि अस्वाभाविक क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेको हुनसक्ने इन्सेकले जनाएको छ । ‘कुनै पनि व्यक्तिले न्यायिक मद्दत लिन खोज्नु त स्वाभाविकै हो तर कुन परिस्थितमा र कुन मनसायबाट प्रेरित भई न्यायिक मद्दत लिइएको छ त्यो भने बुझ्नु जरुरी छ ।’- विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानको धारा १७ मा स्वतन्त्रताको हक र १९ मा सञ्चारको हकको व्यवस्था गरिएकोले संविधानमा उल्लेखित अधिकारहरुको रक्षा गर्ने दायित्वप्रति सरकार चनाखो हुनुपर्ने इन्सेकले जनाएको छ ।