निर्वाचन आयोगका सदस्य सुधिरकुमार शाहले सिरहामा भदौ १९ गते आयोजित एक कार्यक्रममा गणतन्त्रको जग निर्वाचन भएको बताए ।
उच्चस्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका शाहले प्रदेश नम्बर २ अन्तर्गत सिरहा र सप्तरीमा आचारसंहिताको अनुगमन तथा राजनीतिक दलका युवाहरूलाई प्रशिक्षण कार्यक्रममा सो कुरा बताएका हुन ।
उनले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गणतन्त्रको जग हालिने, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले जगमा दुई तल्ला थपिने बताए ।
निर्वाचनको व्यवस्थापनको काम निर्वाचन आयोगको रहेको, सुरक्षा तथा बजेटको जिम्मा सरकारको रहेकोले सरकार र आयोगबिच सहकार्य हुनु आवश्यक रहेको बताए ।
निर्वाचनमा आचारसंहिताको महत्व भएकोले आचारसंहिता मान्दिन भन्नु नै गलत हुने चर्चा गर्दै शाहले आचारसंहिता नमान्ने जो कोहीलाई पनि कानुनबमोजिम कारबाही गरिने बताए ।