दुध उत्पादक कृषकहरु विगत ६ महिनादेखि भुक्तानी नपाएको र आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आन्दोलित भएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले ०८० फागुन १५ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठले किसानको माग सहितको ज्ञापनपत्र वाचन गरेर सुनाउनुभएको थियो । उहाँले विगत ६ महिनादेखि किसानले भुक्तानी नपाएको, १५ करोड भन्दा बढी भुक्तानी पाउन बाँकी रहेको, भारतबाट रोग जाँच नगरीकन लैना गाईभैँसी र दुध भित्राउने तर नेपाली किसानले उत्पादन गरेको दुध एवं दुध जन्य पदार्थले बजार नपाउने, हप्ताको तीन दिन मिल्क होली डे हुने अवस्था आएको लगायतका विसंगति विरूद्ध किसान आन्दोलित हुनु परेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष श्रेष्ठले किसानको माग सम्बोधन नभए, यही फाल्गुन १७ गते १० बजेदेखि १२ बजेसम्म दुइ घण्टा चक्का जाम गर्ने जानकारी गराउनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ज्ञापनपत्र बुझ्दै तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता जनाउनुभयो ।
नवलपुर जिल्लामा हाल २४ वटा दुग्ध सहकारीबाट दुध बिक्री हुँदै आएको छ भने, दैनिक ५० हजार लिटरको हाराहारीमा दुध उत्पादन हुने गरेको छ । जसमा १२ हजार भन्दा धेरै कृषक आबद्ध रहेका छन् ।
ज्ञापनपत्र बुझाउनु अघि किसानहरूले नाराबाजी गर्दै प्ले कार्ड बोकेर र्याली निकालेका थिए । प्रशासन कार्यालयको गेट अगाडि समेत किसानहरूले मिल्क होली डे को अन्त्य गर, दुधको रकम भुक्तानी गर, विदेशी दुध आयात बन्द गर, लगायतका नाराबाजी गरेका थिए ।
