निर्वाचन आयोगले मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गरेको छ ।
आयोगले भदौ १४ गतेबाट लागु हुने गरी आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको उल्लेख गरेको हो । आचारंहिता लागू भएको जानकारी सरकार र सम्बन्धित निकायलाई दिइसकिएको आयोगले जनाएको छ ।
आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय निकाय र तह, स्थानीय निकाय र तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा तत्तत् निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, सार्वजनिक पद धारण गरेका व्यक्तिमा लागु हुने छ ।
उम्मेदवारको हकमा भने यो आचारसंहिता मनोनयन दर्ता भएको मितिदेखि लागू हुने आयोगले जनाएको छ । सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन मङ्सिर १० गते र मङ्सिर २१ गते गरी दुई चरणमा गर्ने निर्णय गरिसकेको छ ।