आलिताल गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको चिस्यान गृह (कोल्ड स्टोर) अलपत्र अवस्थामा रहेका कारण स्थानीय किसानहरु समस्यामा परेका छन्।
कोल्ड स्टोरको काम अलपत्र परेपछि किसान तथा किसान समूहले उत्पादन गरेका तरकारी, बीउ, फलफूल लगायतका कृषिजन्यबस्तुहरु भण्डारण गर्न नपाउँदा आफूहरुलाई समस्या भएको स्थानीय कृषक तीर्थ बोहराले बताउनु भयो ।
मौसम अनुसार उत्पादन गरेका कृर्षिजन्य बस्तुलाई वेमौसमी समयमा विक्रीवितरण गर्न र बजारमा विक्री हुन नसकेका तरकारी तथा फलफूलहरुलाई भण्डारण गर्ने चिस्यान गृहको अभावमा तरकारी तथा फलफूलहरु कुहिँएर नष्ट हुने गरेको उहाँले बताउनु भयो ।
स्थानीय कृषक लालबहादुर डाला मगरले चिस्यान गृहको निर्माण कार्य सुरु भए पनि सम्पन्न नभएपछि किसानले उत्पादन गरेका तरकारी तथा फलफूल कुहिँएर जाने गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अहिले यहाँ जुनार टिप्ने सिजन सुरु भएको छ । चिस्यान गृहको अभावमा सस्तो मूल्यमा बिक्री गर्न बाध्य छौँ । यदि चिस्यान गृहमा राखेर वैैशाख÷जेठमा बिक्री गर्न पाए यसैबाट राम्रो कमाई हुन्थ्यो ।’
आलु तथा तरकारी भण्डारणका लागि २० मेट्रिक टनको प्रि कुलिंग च्याम्बर कोल्ड स्टोर निर्माणका लागि ०७८ वैशाख ७ गते वर्दियाको निर्माण कम्पनी पुरशोत्तम कन्स्ट्रक्सनसँग ले निर्माण कार्य सम्झौता भएको थियो ।
२०७८ असार ४ गते नर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयमा काम नसकेर निर्माण कम्पनी सम्पर्क विहीन रहेको आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले बताउनु भयो ।
कृर्षि विकास निर्देशनालयका निर्देशकलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको समेत अध्यक्ष पार्कीको भनाइ छ ।
५६ लाख ८ हजार २ सय ५४ रुपियाँको लागत ईस्टिमेट रहेको उक्त काम पुरशोत्तम कन्स्ट्रक्सनले ५३ लाख १४ हजार १ सय २३ रुपियाँमा कबोल गरेको थियो ।
२०७८ सालमा काम नसकेपछि चैत्र मसान्तसम्म म्याद थप गरिएको र आर्थिक वर्ष २०७९ / ०८० मा बजेट नआएपछि काम हुन नसकेको सुदूरपश्चिम कृर्षि विकास निर्देशनालय, डोटीका ईन्जिनियर कोषराज बडुले बताउनु भयो ।
यस आर्थिक वर्षमा अन्तिम पटकका लागि २०८१ वैशाख मसान्तसम्म म्याद थपिएकोले काम सम्पन्न हुने र स्थानीय कृषकहरुले उत्पादन गरेका कृर्षिजन्य बस्तुहरुको भण्डारण तथा वितरणमा सहज हुने उहाँले बताउनु भयो ।
